एनपीएलको फाइनल खेल भोली हुँदै

एनपीएलको फाइनल खेल भोली हुँदै


काठमाडौँ – नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको फाइनल खेल शनिबार हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरु हुने फाइनल खेलका लागि नेपाली क्रिकेट समर्थकहरूमाझ उत्साह भने धेरै अगाडिदेखि नै हुनेछ । यो बहुप्रतिक्षित खेलपछि एनपीएलको ऐतिहासिक प्रथम संस्करणको विजेताको टुंगो लाग्ने छ ।

खेल सुरु हुनुभन्दा करिब ३६ घण्टा अगाडि नै फाइनल खेलको जनरल टिकट सोल्ड आउट भइसकेको थियो । सुदूरपश्चिमको खेलमा अन्य बेलामा पनि उल्लेख्य रूपमा धेरै समर्थकहरूको मैदानमा उपस्थिति हुने गरेको छ । शनिबार फाइनल त्यसमाथि पनि बिदाको दिन परेकाले फाइनलको दिन त्रिवि क्रिकेट मैदान ‘फूल-प्याक’ हुने पक्कापक्की छ ।

फाइनल खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरी र जनकपुरका कप्तान आसिफ शेख दुवैले हजारौँ दर्शकमाझको यस फाइनल खेलका लागि तयार रहेको बताए । मैदानमा दर्शकको उपस्थितिले ऊर्जा र मोटिभेसन मिल्ने दुवैको साझा धारणा थियो ।

राम्रो तालिम भइरहेको बताउँदै सुदूरका कप्तान दीपेन्द्रले जनकपुरलाई लिग चरणमा दुई पटक हराएको भए पनि हल्का रूपमा लिन नहुने बताए ।

जनकपुरका कप्तान आसिफले सुदूरपश्चिम बलियो टोली रहेको बताउँदै पछिल्ला खेलमा आफूहरूले बेस्ट दिन नसकेको उल्लेख गरे ।

पछिल्ला दुई खेलमा व्यहोरेको हारलाई सम्झनुभन्दा पनि आफूहरूले राम्रो क्रिकेट खेल्ने र सकेको बेस्ट प्रदर्शन गर्ने आसिफको भनाइ थियो ।