काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू दोस्रो र तेस्रो पटक प्रधानमन्त्री हुँदा गरिबी र भ्रष्टाचारमा मुछिएकाहरूबारे राम्रोसँग अनुभव गर्न पाएको बताएका छन् ।
मंगलबार म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले राजनीतिक दलका नेता, भू-माफिया र दलालहरूले देशको सुशासनविरुद्ध खेलिरहेको थाहा पाएको बताए ।
त्यसपछि आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा नेपाल र नेपालीका लागि सकिने जति गरेको बताए ।
‘नेपालको स्वतन्त्र परराष्ट्र नीति अन्तर्गत दुईवटा ठूला छिमेकीसँग राम्रो सम्बन्ध बनाएर नेपाल र नेपालीका लागि के गर्न सकिन्छ भनेर आफूले सकेजति गरेँ,’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ‘प्रचण्ड’ले भने, ‘पहिलो पटक भारतको प्रधानमन्त्रीले आफ्नै मुखबाट सिमानाको समस्या संवादबाट हल गर्छौँ भनेर पहिलो पटक भन्नुभयो । आफैंमा यो एउटा इतिहास हो ।’
उनले अघि भनेका छन्, ‘जति दिन सिंहदरबारमा रहन्छु, एउटा रेकर्ड बनाउने मेरो प्रयास हुनेछ भनेको थिएँ । त्यसको निम्ति सबैभन्दा ठूलो कुरा यो देशलाई सधैँ पछि पार्ने विडम्बना भनेको, विकृति भनेको भ्रष्टाचार नै हो । भ्रष्टाचारमा राजनीतिक दलका नेता पनि राम्रैसँग मुछिने गरेको, भू-माफिया र दलालहरूले त जनताको पसिना नराम्रोसँग चुस्ने गरेको रहेछ ।’
आफू भारत भ्रमणका बेलामा एकैचोटी ८ वटा परम्परागत सम्झौतामा हस्ताक्षर गरेको उनले जिकिर गरे ।
प्रतिक्रिया