ओलीलाई धक्का दिदै मोरङमा पूर्वराष्ट्रपति भण्डारी पक्षको प्यानलै विजयी

ओलीलाई धक्का दिदै मोरङमा पूर्वराष्ट्रपति भण्डारी पक्षको प्यानलै विजयी


विराटनगर । नेकपा एमाले मोरङमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले बाजी मारेको छ । जिल्लाको नेतृत्वको लागि भएको निर्वाचनमा पूर्वराष्ट्रपति भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष प्यानल बनाएरै मैदानमा उत्रिएकोमा भण्डारी पक्षको प्यानलनै विजयी भएको हो ।

भण्डारी समूहबाट अध्यक्षका लागि अजम्बर राई र ओली समूहबाट राजकुमार ओझा अध्यक्षका उम्मेदवार थिए । उनीहरुलाई भण्डारी पक्षबाट विनोद ढकाल र ओली पक्षबाट गुरु बरालले सहयोग गरेका थिए ।

अध्यक्षमा अजम्बर राईसहित भण्डारी पक्षका नेताहरूको प्यानल नै निर्वाचित भएको हो । कुल ८८८ मत खसेकोमा राईले ४४६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ओझाले ४०७ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा सागर थापा ४२२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी शान्ति लिम्बू भूजेलले ३९१ मत प्राप्त गरेकी छन् । त्यस्तै सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झा निर्वाचित भएका छन् । उनीहरु सबै भण्डारी पक्षका हुन् ।