काठमाडौं । एकदिवसीय बाइल्याटरल क्रिकेट सिरिजमा नेपाल ‘ए’ ओमानसँग पराजित भएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल ओमानसँग ७० रनले हारेको हो । ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ४४.४ ओभरमा अलआउट हुँदै २१० रनमै रोकियो ।
नेपालका लागि इशान पाण्डे र कप्तान अनिल साहले अर्धशतकीय पारी खेले । इशानले ६२ बलमा ५२ रनको योगदान गरे । अनिलले ६४ बलमा ५० रन बनाए । देव खनाल ४३ र तृत राज दासले ३१ रन जोडे ।
ओमानका लागि मुजिबुर अलि, नदिम खान र शकिल अहमदले २–२ विकेट लिए ।
त्यसअघि टस जितेर ओमानले पूरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २८० रन बनाएको थियो । ओमानका लागि मुजिबुर अलि र जतिन्दर सिंहले अर्धशतकीय पारी खेले । मुजिबुरले ७२ र जतिन्दर सिंहले ५८ रन बनाए ।
नेपालका लागि आकाश चन्दले ४ विकेट लिए । उनले ९ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । सन्तोष यादवले २ तथा शाहब आलम, शेर मल्ल र रासिद खानले १–१ विकेट लिए ।

प्रतिक्रिया