काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेट प्रतियोगितामा नेपाल ओमानसँग डीएलएसमा १०२ रनले पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याउने क्रममा वर्षाले खेल रोकिएपछि डीएलएस विधिबाट ओमान १०२ रनले विजयी भएको हो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले । तर, जितका लागि पर्याप्त हुन सकेन ।
६२ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै दीपेन्द्रले ६० रन जोडे । गुल्शन झाले १४, भीम सार्कीले २८, आसिफ शेखले १९, आरिफ शेखले १४ र कप्तान रोहित कुमार पौडेलले १० रन बनाए ।
ओमानका लागि नदिम खानले ३ विकेट लिए । शकिल अहमदले २ तथा वसिम अलिले १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले पूरै ५० ओभर खेलेर ८ विकेटको क्षतिमा ३०५ रन बनाएको थियो ।
ओमानका लागि कप्तान जसप्रित सिंहले शतकीय पारी खेले । उनले ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गर्दै १३० रन बनाएका हुन् ।
जितेन रामानादीले ४३, आर्यान विष्टले ३५, हमाद मिर्जाले ३०, विनायक शुक्लालले २३ र आशिष ओडेडाराले २३ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ४ तथा दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले २–२ विकेट लिए ।
अब शुक्रबार हुने अर्को खेलमा नेपाल र यूएई आमने सामने हुनेछन् ।

प्रतिक्रिया