ओमानविरुद्धको खेलमा ब्याटिङ गर्दै नेपाल

ओमानविरुद्धको खेलमा ब्याटिङ गर्दै नेपाल


काठमाडौँ। आइसिसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिताअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन । आजको खेलमा ओमानलाई हराउँदै जित निकाल्ने उद्देश्यकासाथ नेपाल मैदानमा उत्रिएको छ ।

यही वैशाख १२ गतेदेखि सञ्चालन भएको उक्त शृङ्खलाअन्तर्गत ओमानसँगको पहिलो खेलमा भने नेपाल पराजित भएको थियो । त्यस्तै नेपालले युएईसँगको भने दुवै खेल जितिसकेको छ ।

नेपाली टोलीमा यसअघि शुक्रबार भएको संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध खेलमा खेलेका खेलाडीमध्ये आज दुई खेलाडी परिवर्तन भएका छन् । जसमा भीम सार्कीको स्थानमा आसिफ शेखले मौका पाएका छन् भने सोमपाल कामीको स्थानमा करण केसी रहेका छन् ।

लिग–२ मा २३ खेल खेलेको नेपालको १६ अङ्क छ । अङ्कतालिकामा नेपाल सातौँ स्थानमा छ । त्यस्तै २७ खेल खेलेको ओमान ३१ अङ्कका साथ तेस्रो स्थानमा छ । यता युएई भने २४ खेलमा १४ अङ्कका आठौँ स्थानमा छ ।

नेपालको प्लेइङ–११ कप्तान रोहितसहित विनोद भण्डारी, आसिफ शेख, अर्जुन कुमाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, नन्दन यादव र ललित राजवंशी छन् ।