काठमाडौं । अमेरिका र स्कटल्यान्ड सम्मिलित अभ्यास सिरिजमा नेपाल ‘ए’ले शतप्रतिशत नतिजा निकालेको छ ।
अन्तिम खेलमा अमेरिकालाई ७ रनले पराजित गर्दै नेपाल ‘ए’ले सबै खेलमा जित निकालेको हो ।
आईसीसी विश्वकप लिग-२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्डको टोलीसँग नेपाल ‘ए’ टोलीले दुई–दुई खेलको सिरिज खेलेको थियो । नेपालले आफ्नो पहिलो खेलमा अमेरिकालाई ४५ रन, दोस्रोमा स्कटल्यान्डलाई ४५ रन, तेस्रो खेलमा स्कटल्यान्डलाई डीएल मेथडमा ९ रनले हराएको थियो ।
सोमबार नेपालले दिएको २६५ रनको लक्ष्य पछ्याएको अमेरिका पाँच बल अगावै २५७ रनमा अलआउट भयो ।
अमेरिकाका लागि शेहान जयसुरियाले सर्वाधिक ७१ रन जोडे । शुभम रन्जानेले ४७ र शयान जगानगिरले ४१ रन बनाए ।
नेपालका लागि शेर मल्लले चार विकेट लिए । बसिर अहमदले तीन विकेट लिए ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ २६४ रनमा अलआउट भएको थियो ।
नेपालका लागि सन्दीप जोराले १११ रनको योगदान दिए । बसिर अहमदले ३८ र मयन यादवले २४ रन बनाए । पवन सर्राफले २० र नारायण जोशीले १६ रन थपे ।
अमेरिकाका लागि सौरभ नेत्रवल्करले तीन विकेट लिए ।

प्रतिक्रिया