नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

नेपाल स्कटल्यान्डसँग २ रनले पराजित


काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल स्कटल्यान्डसँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा नेपाल अन्तिम ओभरमा १३ रन बनाउन नसक्दा पराजित भएको हो ।

स्कटल्यान्डले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपाललाई जितका लागि अन्तिम ओभरमा १३ रन आवश्यक थियो । क्रिजमा रहेका गुल्शन झा र नन्दन यादवले उक्त रन जोड्न नसक्दा नेपाल २ रनले पराजित भएको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक पारी खेले । ऐरीले ५५ रन बनाउँदा झाले ६१ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ३२ रन जोडे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले पूरै ५० ओभर खेलेर ८ विकेटको क्षतिमा २४३ रन बनाएको थियो ।

स्कटल्यान्डका लागि जर्ज मन्सेले अर्धशतकीय पारी खेल्दै ६२ बलमा ७५ रन बनाए । फिन्ले म्याक्रिथले ३५ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । २०.३ ओभरमा सन्दीपले जर्ज र फिन्लेको पहिलो विकेटका लागि ११४ रनको साझेदारी तोडे । सोही ओभरको अन्तिम बलमा फिन्लेलाई पेभिलियन फर्काए । त्यसपछि ब्रान्डन म्याकमुलन र रिची बेरिङ्टनको पनि विकेट लिए । करण केसी नन्दन यादवले २-२ विकेट लिए ।

वर्षाका कारण खेल ३९ ओभरमा झार्दा नेपालले २२१ रनको लक्ष्य पाएको थियो ।