नेपाल मलेसियासँग पराजित

नेपाल मलेसियासँग पराजित


काठमाडौं । एसियन गेम्स् महिला क्रिकेट छनोट २०२६ को दोस्रो सेमिफाइनलमा नेपाल मलेसियासँग २ विकेटले पराजित भएको छ ।

मलेसियास्थित क्वालालम्पुरमा शनिबार भएको खेलमा १२७ रनको लक्ष्य मलेसियाले १८.४ ओभारमा ८ विकेटको क्षतिमा पूरा गरेको हो ।

मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक ४८ रन जोडिन् । नेपालका लागि रिया शर्माले ३ विकेट लिइन् । रियाले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन् । मनिषा उपाध्याय र रुबिना क्षेत्रीले २–२ तथा सीता राना मगरले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १२६ रन बनायो ।

नेपालका लागि कप्तान इन्दु बर्माले ४६ रनमा नटआउट रहिन् । कविता कुँवरले ३३, रुबि पोद्दारले १७, र पूजा महतोले १५ रन बनाए । मलेसियाका लागि विनिफ्रेड दुराइसिङ्गमले २ विकेट लिइन् ।

२ सेमिफाइनलमा विजयी भएको थाइल्यान्ड र मलेसिया अब उपाधिका लागि आइतबार आमने सामने हुनेछन् । फाइनलका लागि छनोट भएसँगै दुवै टिम २० औं संस्करणको एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।

अब आइतबार तेस्रो स्थान प्ले–अफका लागि नेपाल र चीन आमने सामने हुनेछन् । यस खेलको विजेता टिम पनि एसियन गेम्सका लागि छनोट हुनेछ ।