काठमाडौं । इरानको राष्ट्रिय फुटबल टोलीले सन् २०२६ को फिफा विश्वकपका लागि अमेरिकाको भिसा प्राप्त गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले बीबीसी फारसीलाई दिएको जवाफमा भनिएको छ, ‘यस टोलीका खेलाडीहरू र सहयोगीहरूलाई भिसा जारी गरिएको छ ।’
अमेरिकी विदेश मन्त्रालयले थप भनेको छ, ‘हामी इरानलाई यस प्रणालीको दुरुपयोग गर्दै आतंकवादीहरूलाई झुटो आवरणमा अमेरिका प्रवेश गराउन अनुमति दिने छैनौं ।’
यसअघि, इरानी समाचार एजेन्सी तस्नीमले उत्तर अमेरिकामा हुने विश्वकपका लागि इरानी राष्ट्रिय फुटबल टोलीका केही सदस्यहरूलाई अमेरिका जान भिसा नदिइएको रिपोर्ट गरेको थियो ।
मिडिया संस्थानका अनुसार टोलीका व्यवस्थापक मेहदी मोहम्मद नबी, फुटबल महासंघका महासचिव हेदायत मोमबेनी, राष्ट्रिय टोलीका कार्यकारी प्रबन्धक मेहदी खराती, मिडिया प्रबन्धक मोहसिन मोतेमदकिया, मिडिया टोलीका सदस्य सियामक कोलिचखानी, राष्ट्रिय टोलीका एक विश्लेषक, विदेश मन्त्रालयका प्रतिनिधि, सुरक्षा विभागका प्रतिनिधि तथा फुटबल महासंघको अन्तर्राष्ट्रिय समितिका प्रतिनिधिलाई भिसा दिइएको थिएन ।
समाचार एजेन्सी मिजानले पनि इरानी फुटबल महासंघका अध्यक्ष मेहदी ताजलाई समेत अमेरिकी भिसा प्राप्त नभएको जनाएको छ । इरानको पुरुष राष्ट्रिय फुटबल टोली शनिबार टर्कीबाट मेक्सिकोतर्फ प्रस्थान गर्ने तयारीमा छ ।
इरानले न्युजिल्यान्ड र बेल्जियमविरुद्धका दुई खेल लस एन्जलसमा खेल्नेछ भने इजिप्टविरुद्धको खेल सिएटल शहरमा आयोजना गरिनेछ । ्
गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले मिलेर इरानमाथि आक्रमण गरेका थिए । त्यसपछि ४० दिनसम्म लगातार दुवैतर्फबाट आक्रमण भयो । अहिले युद्धविराम भए पनि फेरि युद्ध भड्किने संकेतहरू देखिएका छन् । दुवैतर्फबाट युद्धविराम उल्लंघका घटनाहरू बढेका छन् ।

प्रतिक्रिया