काठमाडौं । भारतका विष्फोटक युवा क्रिकेटर वैभव सूर्यवंशी आगामी आयरल्यान्ड र इङ्ग्ल्यान्ड भ्रमण हुने टी–२० अन्तर्राष्ट्रिय शृङ्खलातथा एसियन गेम्सका क्रममा का लागि भारतीय टिममा समावेश भएका छन् । यदि वैभवले खेल्ने अवसर पाए भने, भारतका लागि सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने सचिन तेन्दुलकरको कीर्तिमान तोड्नेछन्।
भारतीय क्रिकेट बोर्ड बीसीसीआई का सचिव देवजित सैकियाले पत्रकार सम्मेलनमार्फत भारतको नयाँ टी–२० कप्तानका रूपमा श्रेयस अय्यरको घोषणा गर्दै सूर्यवंशीलाई आयरल्यान्ड र इङ्ग्ल्यान्ड भ्रमणका लागि टिममा राखिएको जानकारी दिएको इन्डियन एक्सप्रेसले जनाएको छ ।
सूर्यवंशीले २०२६ को इन्डियन प्रिमियर लिग आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडीलाई दिइने ओरेन्ज क्याप जितेपछि व्यापक चर्चा बटुलेका थिए। सन् २०२५ को आईपीएलमा प्रभावशाली डेब्यु गरेका उनले २०२६ संस्करणमा झन् उत्कृष्ट प्रदर्शन गर्दै ओरेन्ज क्याप आफ्नो नाममा पारे।
उनले १६ इनिङ्समा ७७६ रन बनाएका थिए। उनको स्ट्राइक रेट अविश्वसनीय २३७.३० तथा औसत ४८.५० रहेको थियो। यस अवधिमा उनले एक शतक र पाँच अर्धशतक प्रहार गरे।
राजस्थान रोयल्सका लागि खेल्दै उनी प्लेअफका दुवै खेलमा शतक बनाउन निकै नजिक पुगे पनि केही रनले चुकेका थिए। एलिमिनेटरमा सनराइजर्स हैदराबादविरुद्धको इनिङ्सका क्रममा उनले आईपीएलको एकै सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने क्रिस गेलको कीर्तिमानसमेत तोडे।
सूर्यवंशीले ५० ओभरको क्रिकेटमा पनि प्रभावशाली प्रदर्शन गरेका छन्। यस वर्ष सम्पन्न यू–१९ विश्वकपमा भारतलाई उपाधि दिलाउने अभियानमा उनी प्रमुख खेलाडीका रूपमा उभिएका थिए। फाइनलमा उनले ८० बलमा १७५ रनको विस्फोटक इनिङ्स खेल्दै थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाएका थिए।
इङ्ग्ल्यान्ड र आयरल्यान्ड शृङ्खलाका लागि भारतीय टिम :
श्रेयस अय्यर (कप्तान), तिलक वर्मा (उपकप्तान), रवि बिश्नोई, अभिषेक शर्मा, नितिश कुमार रेड्डी, मोहम्मद सिराज, सञ्जु सामसन, अक्षर पटेल, हर्षित राणा, ईशान किशन, वासिङ्टन सुन्दर, अर्शदीप सिंह, शिवम दुबे, वरुण चक्रवर्ती, प्रिन्स यादव र वैभव सूर्यवंशी।
एसियन गेम्सकाका लागि भारतीय टिम :
श्रेयस अय्यर (कप्तान), तिलक वर्मा (उपकप्तान), रवि बिश्नोई, अभिषेक शर्मा, नितिश कुमार रेड्डी, जसप्रित बुमराह, सञ्जु सामसन, अक्षर पटेल, हर्षित राणा, ईशान किशन, वासिङ्टन सुन्दर, अर्शदीप सिंह, शिवम दुबे, वरुण चक्रवर्ती र वैभव सूर्यवंशी।

प्रतिक्रिया