काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सञ्चारकर्मीहरूसँग सुझावसहितको छलफल गरेकी छिन् । आइतबार मन्त्रालयमा एक कार्यक्रमको आयोजनागरी मन्त्री मेहताले सञ्चारकर्मीहरूसँग सुझाव सहितको छलफल गरेकी हुन् ।
छलफलमा मन्त्री मेहताले मन्त्रालयका कामकारबाहीलाई थप प्रभावकारी बनाउन सञ्चारकर्मीहरूसँग नियमित छलफल र सुझाव आदानप्रदान गर्ने बताएकी छन् ।
उनले सरकारको १०० बुँदे कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुँदा यसअघि यस्तो अन्तरक्रिया गर्न नसकिएको स्वीकार गरिन् । अब भने हरेक १५ दिन वा एक महिनाको अन्तरालमा सञ्चारकर्मीहरूसँग नियमित रूपमा छलफल गरिने उनले बताइन् ।
उनले भनिन्,‘हामीले यस्तो छलफल अलि पहिले नै गर्नुपर्ने थियो तर सरकारको १०० बुँदे कार्यक्रममा ध्यान दिँदा यतातिर ध्यान दिन पाइएन । अब निरन्तर रूपमा यस्ता छलफल गर्नेछौँ । सुझाव पनि लिनेछौँ र आएका सुझाव तथा सल्लाहलाई आत्मसात् गर्दै अघि बढ्नेछौँ ।’
कार्यक्रममा सञ्चारकर्मीहरूले मन्त्रालयका कामकारबाही, स्वास्थ्य सेवा, खाद्य स्वच्छता तथा स्वास्थ्य बीमालगायत विषयमा विभिन्न सुझाव दिएका थिए । मन्त्री मेहताले मन्त्रालयका कमी–कमजोरीबारे उठेका विषयलाई पनि सकारात्मक रूपमा लिँदै सुधारका लागि पहल गरिने बताइन् ।
उनलाई मन्त्री पदबाट बिदा हुन लागेको भन्दै पत्रकारले पनि प्रश्न गरेका थिए । त्यसको जवाफमा उनले हालसम्म आफूलाई त्यससम्बन्धी कुनै आधिकारिक जानकारी प्राप्त नभएको स्पष्ट पारिन् । ‘आधिकारिक रूपमा त्यस्तो केही आएको छैन,’ उनले भनिन् ।

प्रतिक्रिया