काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरी हिरासतमा रहेका विवादास्पद् व्यवसायी दीपक भट्टसँग व्यवसायिक साझेदारी रहेको खुलेपछि गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् ।
उनलाई प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने संवैधानिक वयवस्था छ ।
जेन जी आन्दोलनको अगुवाइ गरेर चर्चामा आएका सुधन बालेनसँगै रास्वपा प्रवेश गरेका थिए । र उनी गोरखा– १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । गत चैतमा प्रधानमन्त्री बालेनले पदको शपथ लिएकै दिन उनी पनि गृहमन्त्री बनेका थिए । तर, सम्पत्ति शुद्धीकरणको विषय आएपछि उनले वैशाख ९ गते राजीनामा दिएका थिए ।
गुरुङको राजीनामापछि सरकारले उनीमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । सो छानबिन समितिले उनलाई निर्दोष देखाएको विवरणहरू सार्वजनिक भएका छन् । तर, सरकारले सो प्रतिवेदन सार्वजनिक गरेको छैन । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो छानबिन प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।
छानबिन समितिले गुरुङलाई निर्दोष ठहर गरे पनि जेन जी आन्दोलनबारे राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदनमा भने गुरुङमाथि थप अनुसन्धान गरी कारवाही गर्न सिफारिस गरिएको छ । आयोगले कारवाही गर्न सिफारिस गरेका व्यक्तिलाई बालेनले फेरि रोजेका हुन् ।
गुरुङले राजीनामा दिएपछि बालेनले गृह मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका थिए ।
संसद्मा भने गुरुङमाथि छानबिनको नाममा चोख्याउन काम भएको भन्दै विपक्षी दलहरूले संसदीय छानबिन गर्नुपर्ने बताएका छन् । गुरुङले यसअघि गोरखामा आयोजित एक कार्यक्रममा आफू फेरि गृहमन्त्री बन्ने संकेत गरेका थिए ।

प्रतिक्रिया