काठमाडौं । एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डसँग भएसँगै नेपाल महिला एसिया कपमा छनोट हुन असफल भएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा बुधबार भएको सेमिफाइनल खेलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित भएको हो । जितसँगै फाइनलमा पुगेको थाइल्यान्ड भने एसिया कपमा छनोट भएको छ ।
१३१ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा मात्र ७४ रन जोड्यो । नेपालका लागि रुबिना क्षेत्रीले नटआट २० र सीता राना मगरले नटआउट १२ रन बनाए । सोनी पाख्रीनले १५ र सम्झना खड्काले १२ रन जोडे ।
थाइल्यान्डका लागि थिपाच्चा पुथ्थावोङ, सुनिदा चतुरोङरत्ताना र सुलीपोर्न लाओमीले २–२ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३० रनको योगफल तयार पारेको हो।
थाइल्यान्डलाई बलियो स्थितिमा पुर्याउन प्रारम्भिक ब्याटर नानापत कोन्चारोन्काइले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलिन्। नेपाली बलरहरूमाथि हाबी भएकी उनले ५१ बलको सामना गर्दै अविजित ६३ रनको महत्त्वपूर्ण योगदान दिइन्। त्यस्तै, फनिता मायाले २६ रन र चनिदा सुथिराङले १६ रन जोड्दै टोलीको स्कोर बढाए।
नेपाली टोलीका तर्फबाट कसिलो बलिङ गर्ने प्रयास भए पनि थाइल्यान्डका मुख्य ब्याटरहरूलाई सस्तैमा समेट्न सकिएन। नेपालका लागि बलिङतर्फ कविता कुँवर, रिया शर्मा र पूर्व कप्तान रुबिना क्षेत्रीले समान १–१ विकेट लिन सफल भए।

प्रतिक्रिया