भारतले नेपाललाई ५० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने

भारतले नेपाललाई ५० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने


काठमाडौं । भारतले सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा नेपाललाई ५० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने भएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार नेपालले पहिलो चरणमा ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद प्रक्रिया अघि बढाएको हो ।

नेपालको तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल्स एण्ड फर्टिलाइजर्स लिमिटेड (आरसीएफ) बीच व्यावसायिक प्रक्रिया अगाडि बढाइएको छ ।

संयुक्त स्टेयरिङ कमिटी (जेएससी) ले खरिद परिमाण र मूल्य अनुमोदन गरेपछि कृषि सामग्री कम्पनीले आरसीएफलाई पर्चेज अर्डर तथा कार्यदेश पठाइसकेको जनाएको छ । हाल भुक्तानी प्रक्रिया अन्तिम चरणमा रहेको कृषि सामग्री कम्पनीका अध्यक्ष तथा कृषि मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

सम्झौताअनुसार पर्चेज अर्डर प्राप्त भएको १२० दिनभित्र मल आपूर्ति गर्नुपर्ने भए पनि नेपालले छिटो आपूर्तिका लागि भारतीय पक्षसँग विशेष आग्रह गरेको छ । भारतीय पक्षले पनि सकेसम्म चाँडो मल उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।