काठमाडौं । फिफा विश्वकप २०२६ प्रति विश्वभर उत्साह र चासो बढिरहेका बेला नेपालका राजनीतिक नेतृत्व तथा जनप्रतिनिधिहरूले पनि आफ्नो रुचि र समर्थनबारे धारणा व्यक्त गरेका छन् ।
बिहीबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका समर्थक रहेको बताए ।
उनले भने, ‘जसले जिते पनि हुन्छ, जित्नेलाई समर्थन गर्ने हो । तर मलाई रोनाल्डो मन पर्छ, त्यसैले म रोनाल्डोलाई बढी समर्थन गर्छु ।’
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले फुटबलबारे आफूलाई धेरै जानकारी नभएको स्वीकार गर्दै खेलप्रति भने सकारात्मक रहेको बताए । उनले आफू फुटबलको ज्ञानभन्दा पनि राजनीतिको ज्ञानमा बढी चासो भएकाले अहिलेको सबैभन्दा सुपरस्टार खेलाडी रवि लामिछाने भएको बताए ।
उनले भने, ‘फुटबलको सन्दर्भमा म सबैको पक्षमा छु । धेरै ज्ञान त छैन, थाहा नभएको विषयमा धेरै बोल्नु पनि हुँदैन । केही खेलाडीहरूको नाम सुनेको छु । तर फुटबलको ज्ञानभन्दा राजनीतिको ज्ञानमा बढी चासो हुने भएकाले अहिलेको सबैभन्दा सुपरस्टार खेलाडी त रवि लामिछाने नै हुन् ।’
उता नेकपा एमालेका नेता ऐन महरले आफू लामो समयदेखि फुटबलप्रेमी रहेको बताउँदै विश्वकपका लागि सबै टोलीलाई शुभकामना व्यक्त गरे ।
उनले भने, ‘करिब २८ वर्षदेखि फुटबल हेर्दै आएको छु । यो मेरो अत्यन्त मनपर्ने खेल हो । अघिल्ला धेरै प्रतियोगिताका खेलहरू पनि सकेसम्म नछुटाई हेर्ने गरेको छु । सबै टोलीलाई शुभकामना दिन चाहन्छु ।’
महरले आफूले लामो समयदेखि ब्राजिललाई समर्थन गर्दै आएको उल्लेख गर्दै विश्व फुटबलका स्थापित खेलाडीहरूप्रति सम्मान व्यक्त गरे । उनले मेस्सी, रोनाल्डो र नेयमारजस्ता खेलाडीहरू आफ्नो समयका उत्कृष्ट खेलाडी भएकाले अहिले युवा खेलाडि लामिन यमालाई समर्थन गर्ने बताए ।
उनले भने, ‘मेरो समर्थन सधैं ब्राजिललाई नै रहन्छ । मेस्सी, रोनाल्डो र नेयमारजस्ता खेलाडीहरू आफ्नो समयका उत्कृष्ट खेलाडी हुन् । उहाँहरूले फुटबलमा ठूलो योगदान पुर्याउनुभएको छ । अहिले भने लामिन यमालले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यी सबै खेलाडीप्रति मेरो उच्च सम्मान छ ।’
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले पनि आफ्नो समर्थन पोर्चुगललाई रहेको जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले रोनाल्डोलाई समर्थन गर्ने जनाएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘म त तयार भएँ । यसपालिको मेरो फेभरेट टिम पोर्चुगल रोनाल्डो ।’ फिफा विश्वकपलाई लिएर सर्वसाधारणदेखि राजनीतिक नेतृत्वसम्मको बढ्दो चासोले नेपालमा पनि फुटबलप्रतिको आकर्षण झन् बढ्दै गएको देखिन्छ । आयोजक मध्धेको एक मेक्सिको र दक्षिण अफ्रिकाबीच हुने उद्घाटन खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया