काठमाडौं । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई २-१ को जितसहित फिफा विश्वकप २०२६ को सुरुवाती खेलमा सुखद शुरुआत गरेको छ । मेक्सिकोको ग्वाडालजारा रंगशालामा शुक्रबार भएको समूह ‘ए’ को खेलमा दक्षिण कोरियाले दोस्रो हाफमा १४ मिनेटको अन्तरमा दुई गोल गर्दै जित हासिल गरेको हो । चेक रिपब्लिकले भने सुरुवाती अग्रता जोगाउन सकेन ।
खेलको ५९औं मिनेटमा लादिस्लाभ क्रेज्कीले गोल गर्दै चेक रिपब्लिकलाई १-० को अग्रता दिलाएका थिए । तर, ६७औं मिनेटमा ह्वाङ इनबियोमले बराबरी गोल फर्काए । त्यसपछि ८०औं मिनेटमा ओएच ह्योङयुले निर्णायक गोल गर्दै दक्षिण कोरियालाई २-१ को जित दिलाए ।
७७औं मिनेटमा चेक रिपब्लिकले फ्रिकिकबाट हेडरमार्फत गोल गरेको थियो, तर थोमस सुसेक अफसाइड रहेको भन्दै गोललाई मान्यता दिइएन । यो दक्षिण कोरियाको चेक रिपब्लिक (चेकिया) विरुद्ध विश्वकपमा पहिलो जित हो । १२औं पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले पहिलो खेलमै जित हासिल गरेको यो चौथो पटक हो । जितसँगै दक्षिण कोरिया समूह ‘ए’ मा ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ३ अंक भएको मेक्सिको गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । चेक रिपब्लिक ० अंकसहित तेस्रो र दक्षिण अफ्रिका पुछारमा छन् ।
दक्षिण कोरियाले अब आफ्नो दोस्रो खेल मेक्सिको वा दक्षिण अफ्रिकासँग खेल्नेछ ।

प्रतिक्रिया