भारत भ्रमणलगत्तै चीनको चारदिने भ्रमण गर्दै परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणलगत्तै चीनको चारदिने भ्रमण गर्दै परराष्ट्रमन्त्री खनाल


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल यही जेठ ३१ गतेबाट असार ३ गतेसम्म उत्तरी छिमेकी चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।

चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनाल चीन भ्रमणमा जान लागेका हुन् । रास्वपा सरकारमा आएपछि परराष्ट्रमन्त्री खनालको यो पहिलो औपचारिक बेइजिङ भ्रमण हुन लागेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विषयमा सहकार्य विस्तार गर्नेबारे छलफल हुनेछ । भ्रमणका क्रममा उनले चीनका उच्चस्तरीय पदाधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणकै क्रममा बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनेछन् । सम्मेलनमार्फत नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ । मन्त्री खनालले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया पनि गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, बेइजिङस्थित नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी भई त्यहाँ रहेका नेपाली समुदायसँग समेत भेटघाट गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले यही जेठ १९ गते दक्षिणी छिमेकी भारतको भ्रमण गरेका थिए । फागुन २१ गतेको चुनावबाट रास्वपा सत्तामा आएपछि परराष्ट्रमन्त्री स्तरमा दुवै छिमेकमा पहिलो औपचारिक भ्रमण हुने भएको हो । दिल्ली भ्रमणमा नयाँ सरकार बनेपछि भारतसँगकाे सम्बन्ध विस्तारमा सहयोग गर्न दुवै मुलुक सहमत भएका थिए । त्यसअघि सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले भारतको पाँचदिने भ्रमण गरेका थिए ।