काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि स्थापना भएको कांग्रेस पार्टीभित्र निरंकुशता सुरु भएको बताएका छन् ।
कोइरालाले लोकतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको भन्दै २०३३ सालमा बीपी कोइरालाले लिएको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता आजको दिनमा झनै बढेर गएको बताए । नेपाली कांग्रेस अब बीपीले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापकै नीतिबाट अगाडि बढ्नुको विकल्प नभएको कोइरालाको भनाइ थियो ।
कोइरालाले भने, “नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र प्रजातन्त्रलाई मजबुत बनाउन नेपालका सबै शक्तिका बीचमा सहकार्य र एकता जरुरी छ ।”
विराटनगरमा आयोजित कोशी प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले सभापति गगन थापासँग कुराकानी गर्दा आफूले राखेका ५ वटा कुरा स्वीकारेको बताउँदै उनले भने, “सहमति गर्न अहिले के कुराले रोक्यो ?”
सभापति गगनले कोइराला निवासमा पुगेर पार्टीका साथीहरूलाई कारबाहीको धम्की दिएपछि बाध्य भएर आफूले राखेका ५ बुँदे सार्वजनिक गरेको बताए ।
सहमतिबिना कांग्रेस पार्टी एक कदम अगाडि बढ्न नसक्ने भन्दै उनले भने, “गिरिजाप्रसाद कोइरालाले भन्ने गर्नुभएको सहमति, सहकार्य र एकता बाटै हामी हिँड्नुपर्छ । त्यसका लागि सहमति, सहकार्य र एकता आफ्नै पार्टीभित्रबाट सुरु गर्नुपर्छ ।”
कोइरालाले आफूले कुनैपनि हालतमा पार्टी नफुट्ने र फुट्न नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया