यदि म नभएको भए इजरायल ध्वस्त भइसकेको हुन्थ्यो – ट्रम्प

यदि म नभएको भए इजरायल ध्वस्त भइसकेको हुन्थ्यो – ट्रम्प


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू बिना इजरायल नहुने बताएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई “अझ जिम्मेवार” हुन पनि उनले सल्लाह दिए ।

ट्रम्पको यो बयान यस्तो समयमा आएको हो, जब इरान र अमेरिकाबीचको भएको सम्झौताको धेरै इजरायली नेताहरूले आलोचना गरिरहेका छन् ।

फ्रान्समा भइरहेको G-7 शिखर सम्मेलनमा ट्रम्पले भने, “अमेरिका बिना इजरायल हुने थिएन । म बिना इजरायल हुने थिएन, किनकि मैले गरेको काम गर्न अरू कुनै राष्ट्रपति इच्छुक थिएनन् । मेरो नेतान्याहूसँग राम्रो सम्बन्ध छ, तर अब उनी लेबनानसँग सम्बन्धित मामिलामा बढी जिम्मेवार हुनुपर्छ ।”

उनले थपे, “मलाई इजरायलले लेबनान र हिजबुल्लाहलाई कसरी व्यवहार गर्छ भन्ने कुरा मन पर्दैन । उनीहरूले यो पहिले नै गर्नुपर्थ्यो । यो धेरै लामो समयदेखि चलिरहेको छ । जब यो हुन्छ, यसले इरानसँगको प्रमुख सम्झौतामा नकारात्मक प्रभाव पार्छ ।”

ट्रम्पले अगाडि भने, “मेरो नेतान्याहूसँग धेरै राम्रो सम्बन्ध छ । तर, यदि म संलग्न नभएको भए इजरायल धेरै पहिले नै ध्वस्त भइसकेको हुन्थ्यो । मलाई राम्रोसँग याद छ, नेतान्याहू वाशिंगटन आएर ओबामालाई यो सम्झौता नगर्न अनुरोध गरेका थिए । तर ओबामा इरानसँग थिए, इजरायलसँग होइन ।”

जेरुसेलममा एक पत्रकार सम्मेलनमा इजरायली प्रधानमन्त्री नेतान्याहूले सरकारले इजरायललाई “पूर्ण विनाशबाट” बचाएको तर “लडाइँ अझै सकिएको छैन” भनेका छन् ।