बुटवल । रुपन्देहीका निर्माण व्यवसायीहरूले भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सार्वजनिक रूपमा दिएको ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिन्छु’ भन्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन् ।
लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै निर्माण व्यवसायीलाई काम गर्ने उचित वातावरण सिर्जना गर्नुपर्नेमा धम्कीपूर्ण अभिव्यक्ति दिनु उपयुक्त नभएको जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै निर्माण व्यवसायीहरूले मन्त्री लम्सालको उक्त अभिव्यक्तिले निर्माण व्यवसायीहरू त्रसित भएको दाबी गरे । उनीहरूले सडक, पुल तथा अन्य पूर्वाधार निर्माणका काम धम्की र त्रासबाट नभई सहकार्य र अनुकूल वातावरणबाट मात्र प्रभावकारी रूपमा सम्पन्न हुने बताए ।
निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष रविसिंहले मन्त्रीको अभिव्यक्तिले सिंगो निर्माण व्यवसायी समुदायको मनोबल कमजोर बनाएको बताए । उनले जिम्मेवार पदमा रहेका व्यक्तिबाट आउने यस्ता अभिव्यक्तिले सकारात्मक सन्देश नजाने भन्दै अभिव्यक्ति फिर्ता लिन आग्रह गरे ।
त्यस्तै, लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रमेश बेल्वासे तथा संघका सल्लाहकार जमिन कक्षपति ले निर्माण सामग्रीको मूल्य अत्यधिक वृद्धि भएको वर्तमान अवस्थामा पुरानै दररेटमा काम सम्पन्न गर्न कठिन भएको बताए । उनीहरूले लागत बढेको यथार्थलाई सरकारले बुझ्नुपर्ने र निर्माण व्यवसायीका समस्याको समाधानतर्फ ध्यान दिनुपर्ने धारणा राखे ।
निर्माण व्यवसायीहरूले मन्त्री लम्सालको अभिव्यक्ति तत्काल फिर्ता लिन तथा निर्माण क्षेत्रका समस्या समाधानका लागि सरकारसँग संवाद र सहकार्यको वातावरण बनाउन माग गरेका छन् ।

प्रतिक्रिया