काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको विदेशी मुद्रा सञ्चिति सुरक्षित सम्पत्तिमा लगानी गरिएको र अमेरिकी ट्रेजरीको ब्याजदरमा हुने परिवर्तनले त्यसको प्रतिफलमा प्रत्यक्ष प्रभाव पार्ने बताएका छन् ।
अर्थसमितिको बैठकमा गभर्नरसँग आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति कार्यान्वयन प्रगति, बैंक तथा वित्तीय संस्थामा बढ्दो अधिक तरलता व्यवस्थापन, सरकारी स्वामित्वका बैंकहरूको कार्यसम्पादन तथा वित्तीय क्षेत्रका नीतिगत र कानुनी सुधारका विषयमा भएको छलफलमा बोल्दै उनले नेपाल राष्ट्र बैंकले हाल विदेशमा २२ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको जानकारी दिए ।
उनले भने, ‘फरेन रिजर्भको पैसा विदेशमा लगानी गर्छौँ । अहिले हामीले २२ अर्ब रुपैयाँभन्दा बढी विदेशमा लगानी गरेका छौँ । त्यो मुख्यतः ट्रेजरीमा लगानी हुन्छ । अमेरिकी डलरमा करिब ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ भने बाँकी चिनियाँ, भारतीय लगायतका ट्रेजरीमा लगानी गरिएको छ । अहिले हाम्रो औसत प्रतिफल ३.८ प्रतिशतको हाराहारीमा छ ।’
अमेरिकी ट्रेजरीको ब्याजदर घट्दा नेपाललाई प्रत्यक्ष असर पर्ने उल्लेख गर्दै उनले भने, ‘यदि अमेरिकी ट्रेजरीको दर १ प्रतिशतले घट्यो भने हामीलाई करिब ३० देखि ३५ अर्ब रुपैयाँ बराबरको असर पर्न सक्छ । ६० प्रतिशत लगानी अमेरिकी ट्रेजरीमा भएकाले त्यसको प्रभाव प्रत्यक्ष रूपमा पर्छ । त्यही कारण हामीले ‘सेफ एसेट्स’ रोज्ने गरेका छौँ ।’
उनले विदेशी मुद्रा सञ्चितिको व्यवस्थापनमा वैकल्पिक उपायका रूपमा ‘सावरेन वेल्थ फन्ड’ को अवधारणामाथि समेत छलफल भइरहेको बताए ।
उनले भने, ‘सावरेन वेल्थ फन्ड ल्याएर केही रकम म्युचुअल फन्ड जस्ता क्षेत्रमा लगानी गर्ने विकल्पबारे पनि सोचिरहेका छौँ । यसबारे माननीय सदस्यहरूको चासो भए थप छलफल गर्न सक्छौँ ।’
कृषि कर्जाबारे उठेका प्रश्नको जवाफ दिँदै उनले कृषि क्षेत्रमा कर्जा प्रवाह घटेको नभई बढेको दाबी गरे ।
उनले भने, ‘२०७६ सालमा कृषि क्षेत्रमा ‘एबीसी’ वर्गीकरणअन्तर्गत करिब २०५ अर्ब रुपैयाँ कर्जा थियो । अहिले ०८३ सालमा त्यो बढेर ७१० अर्ब रुपैयाँ पुगेको छ । त्यसैले कृषि कर्जा घटेको भन्ने निष्कर्ष सही हुँदैन ।’
कर्जा प्रवाह लक्ष्यअनुसार बढ्न नसकेको विषयमा बोल्दै उनले व्यवसायी र उद्यमी सिर्जना गर्ने काम केवल मौद्रिक नीतिबाट सम्भव नहुने बताए ।
व्यवसायीलाई अत्यधिक दबाब दिएर उद्यमशीलता विकास गर्न नसकिने उल्लेख गर्दै उनले भने, ‘काम गर्दै जाँदा व्यवसायीहरूले गल्ती पनि गर्छन् । हरेक गल्तीमा थुन्ने, कारबाही गर्ने मात्रै गरियो भने उद्यमी पैदा हुँदैनन् । उद्यमशीलता प्रवद्र्धनका लागि राज्यले सहयोगी वातावरण बनाउनुपर्छ ।’
गभर्नर डा. पौडेलले राष्ट्र बैंकको प्रमुख जिम्मेवारी वित्तीय प्रणालीलाई स्थिर राख्नु रहेको स्पष्ट पारे । विदेशी मुद्रा सञ्चितिको अवस्थाबारे चर्चा गर्दै उनले नेपाल अहिले विदेशी मुद्रा अभावको अवस्थामा नरहेको बताए ।
मौद्रिक नीति र वित्तीय नीतिको समन्वयबाट मात्रै अपेक्षित आर्थिक नतिजा हासिल गर्न सकिने उनले जानकारी दिए ।

प्रतिक्रिया