काभा च्याम्पियन्स लिग भलिबल नेपालमा हुने

काभा च्याम्पियन्स लिग भलिबल नेपालमा हुने


काठमाडौं । महिलातर्फको काभा च्याम्पियन्स लिग आगामी कात्तिक १५ देखि २१ गते (नोभेम्बर १–७) सम्म नेपालमै हुने भएको छ ।

नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले यस्तो निर्णय गरेको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार संघको बैठकले २०८३/०८४ को वार्षिक कार्यक्रम पारित गरी सार्वजनिक गर्ने निर्णय गर्नुका साथै महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गर्दै त्यसलाई अनुमोदन गरेको छ।

यसका साथै, संघ स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा यस वर्षलाई विशेष रूपमा ‘गोल्डेन जुबली’ का रूपमा भव्यताका साथ मनाउने निर्णयसमेत गरिएको छ।

संघको आसन्न १३औँ चुनावी साधारण सभालाई लक्षित गर्दै आगामी असोज १५ गतेभित्र देशका सबै जिल्ला र प्रदेशहरूको पुनर्गठन गरिसक्ने निर्णय भएको छ। यस प्रक्रियालाई प्रभावकारी बनाउन ७ वटै प्रदेशमा केन्द्रीय प्रतिनिधि (संयोजक) हरू चयन गरिएका छन्ज । समा कोशीमा मदन खड्का, मधेसमा मोहम्मद फिरोज, बागमतीमा गौतम लासिवा, गण्डकीमा यम बहादुर गुरुङ, लुम्बिनीमा भीम ओली, कर्णालीमा मंगल श्रेष्ठ / श्याम श्रेष्ठ र सुदूरपश्चिम प्रदेशमा हरक सिंह धामीलाई संयोजक तोकिएको छ।

यसैगरी, संघको पूर्ण बैठकले क्लब सदस्यता वितरणलाई व्यवस्थित बनाउन एक विशेष कार्यदल गठन गर्ने निर्णय गरेको छ भने सोही कार्यदलले बनाएको कार्यविधि र मापदण्ड पूरा गरेका नयाँ क्लबहरूलाई मात्र अब सदस्यता प्रदान गरिने नयाँ व्यवस्था लागू गरिएको छ।