पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा पेसी

पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा पेसी


काठमाडौं । वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आज ९सोमबार० सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। श्रेष्ठको रिट न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो। यसअघि साउन २९ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठलाई बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

इजलासले श्रेष्ठलाई हिरासतमा राख्नुको आधार र कारणसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश दिएको थियो। सर्वोच्चले श्रेष्ठविरुद्ध परेको जाहेरीसहित अनुसन्धानको फाइल तथा उनको घर र कार्यालयबाट बरामद गरिएका सीपीयू, ल्यापटप, आइप्याड र मोबाइलसमेत इजलाससमक्ष पेस गर्न आदेश दिएको थियो। वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा प्रहरीले श्रेष्ठलाई गत बुधबार राति ललितपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

सरस्वतीका अनुसार प्रहरीले श्रेष्ठ पक्राउ परेको दिन बुधबार साँझ उनको घर र जनआस्था साप्ताहिकको कार्यालयबाट कम्प्युटरसहित विभिन्न महत्वपूर्ण उपकरण बरामद गरेको थियो। त्यसपछि बिहीबार पनि प्रहरीले घरमा पुनः खानतलासी गरी सीसी क्यामेराको डिभाइस तथा स्टोरेजसमेत लगेको उनले बताएकी छन्। आजको सुनुवाइमा सर्वोच्चले श्रेष्ठलाई हिरासतमा राख्नुको कानुनी आधार, अनुसन्धानको अवस्था तथा बन्दी प्रत्यक्षीकरण रिटमा उठाइएका मागबारे निर्णय गर्नेछ।