विराटनगर । प्रहरीको सर्च अप्रेसनपछि विराटनगरस्थित जिल्ला कारागार मोरङमा कैदीबन्दी आन्दोलित भएका छन्। उनीहरूले छतमा चढेर नाराबाजी गर्नुका साथै टायर जलाएर प्रदर्शन र केही तोडफोडसमेत गरेका छन्। सोमबार बिहान कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीले आर्थिक तथा मानसिक शोषण बन्द गर्नुपर्नेलगायतका माग राख्दै प्रदर्शन गरेका हुन्। उनीहरू कारागारको पूर्वी भागको छतमा चढेका थिए। प्रदर्शनका क्रममा कैदीबन्दीले कारागारभित्र मुढा बनाउन राखिएका टायर छतमा लगेर आगो लगाउने प्रयास गरेका थिए। आगलागी नियन्त्रणमा लिन दमकल परिचालन गरिएको थियो।
कारागारभित्र लागूऔषधलगायत अवैध वस्तु लुकाएर राखिएको सूचनापछि सोमबार बिहानै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर खानतलासी सुरु गरिएको थियो। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र प्रहरी उपरीक्षक कवित कटुवालसहित सुरक्षा अधिकारीको उपस्थितिमा खानतलासी गरिएको थियो। जिल्ला प्रहरी प्रमुख कटुवालले नियमित सुरक्षा जाँचअन्तर्गत गरिएको ‘सर्च अप्रेसन’कै क्रममा कैदीबन्दी आन्दोलित भएको बताए। खानतलासीमा गम्भीर प्रकृतिका अवैध वस्तु फेला नपरे पनि प्रशासनले केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेको थियो। तर, कैदीबन्दीले विरोध गरेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानान्तरण तत्कालका लागि रोकिएको प्रहरीले जनाएको छ। खानतलासी सकेर सुरक्षा टोली फर्किएपछि कारागारको अवस्था सामान्य भएको डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै कारागार परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरी उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

प्रतिक्रिया