काठमाडौं । नेपाल वायुसेवा निगमका दुई जना कर्मचारी विदेशी मुद्रासहित पक्राउ परेका छन्। सोमबार बिहान काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले निगमका दुई कर्मचारीलाई विदेशी मुद्रासहित नियन्त्रणमा लिएको पुष्टि गरे।
उनका अनुसार उनीहरूले तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको देखिएपछि नियन्त्रणमा लिइएको हो। ‘५ हजार डलरसम्म ल्याउन पाइने हो। लिमिटभन्दा बढी रकम देखिएकाले उहाँहरूलाई पक्राउ गरेका छौं। हामी थप विवरण बुझ्दैछौं। केहीबेरमा यसको विवरण दिन्छौं,’ एसपी सिलवालले भने।
प्रहरीले नियन्त्रणमा लिइएका दुवै कर्मचारीको परिचय भने सार्वजनिक गरेको छैन। उनीहरूमाथि विमानस्थलमा थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया