एजेन्सी । भारतको बिहारस्थित लखीसरायको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार बिहान भागदौड मच्चिँदा सात महिलाको मृत्यु भएको छ। घटनामा पाँचदेखि छ जना घाइते भएका छन्।
लखीसरायका सब डिभिजनल प्रहरी अधिकारी ९एसडीपीओ० शिवमकुमारले सोमबार बिहान मन्दिर परिसरमा भागदौड भएको पुष्टि गरेका छन्। उनका अनुसार मृत्यु हुने सबै महिला हुन्। घाइतेलाई लखीसराय सदर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। लखीसरायका जिल्ला अधिकारी शैलेन्द्रकुमार घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका थिए। उनले घटनाबारे जानकारी दिँदै अशोकधाम हल्ट रेलवे स्टेसनदेखि मन्दिरसम्म दर्शनार्थीको लामो लाइन रहेको बताएका छन्।
त्यही समयमा स्टेसनमा दुईवटा रेल आइपुगेका थिए। विद्युत्को पोल ढलेको हल्ला फैलिएपछि महिलातर्फको लाइनमा एकाएक भिडको दबाब बढेको अधिकारीहरूले बताएका छन्। वास्तवमा विद्युत्को पोल नभई तार मात्र चुडिएको थियो।
भिडको दबाब बढेपछि महिलाहरू एकअर्कामाथि खस्न थालेका थिए। घटनामा करिब २०–२५ जना महिला एकअर्कामाथि खसेको एक प्रत्यक्षदर्शी महिलाले पीटीआईलाई बताएकी छन्। उनका अनुसार भिडमा च्यापिएर धेरै महिला बेहोस भएका थिए र आफू पनि केही समय बेहोस भएकी थिइन्। घटनापछि प्रशासन तथा सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन्। उनीहरूले उद्धार तथा भिड नियन्त्रणको काम गरिरहेका छन्। घटनास्थलको अवस्थामाथि निरन्तर निगरानी भइरहेको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया