रसुवा । बुधबार बिहान लेन्दे खोला (भोटेकोसी)मा आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुर्याएको छ। बाढीले रसुवा नाकास्थित टिमुरेसहित दुईवटा बजार र रसुवा भन्सार क्षेत्रमा ठूलो क्षति गरेको हो।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीले टिमुरे र त्यससँगैको अर्को बजार तहसनहस पारेको छ। भन्सार क्षेत्रमा रहेका ठूलो संख्याका सवारीसाधन तथा अन्य सामग्रीसमेत बाढीले बगाएको उनले जानकारी दिए।
दुईवटा बजार तहसनहस भएको छ। टिमुरे र सँगैको अर्को एउटा बजार तहसनहस भएको छ,’ अधिकारीले भने, रसुवा भन्सार क्षेत्रमा ठूलो संख्यामा गाडीहरू र अन्य सामग्रीहरू थिए। ती सबै बाढीमा बगेका छन्।’
बाढीले बजार क्षेत्रसँगै रसुवा भन्सारको संरचनामा समेत ठूलो क्षति पुर्याएको अधिकारीले बताए। उनका अनुसार भन्सार क्षेत्रका धेरै संरचना बाढीले बगाएको छ।
गत वर्षको बाढीले बगाएको पुल पुनःनिर्माण गरी भर्खरै सञ्चालनमा ल्याइएको थियो। उक्त नयाँ पुलसमेत बुधबार बिहान आएको बाढीले बगाएको छ। भीषण बाढीपछि रसुवा नाकाको जनजीवन प्रभावित भएको छ भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया