काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको आकस्मिक ठूलो बाढीपछि गृह मन्त्रालयले ५ जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
गृह मन्त्रालयले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका भोटेकोशी तथा त्रिशूली नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको हो।बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई सम्भावित जोखिमबाट जोगिन र आवश्यक परे तत्काल सुरक्षित स्थानतर्फ जान गृहले अनुरोध गरेको छ।
यसैबीच, गृह मन्त्रालयले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक र मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न आग्रह गरेको छ। जोखिमपूर्ण अवस्थामा यी सडकमा आवतजावत पूर्ण रूपमा रोक्नसमेत गृहमन्त्री सुधन गुरुङले सम्बन्धित निकायलाई आग्रह गरेका छन्।रसुवामा आएको बाढीले सडक तथा पूर्वाधारमा क्षति पुर्याउने जोखिम यसअघि पनि देखिँदै आएको छ। त्रिशूली नदीको कटानका कारण रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड समेत प्रभावित हुँदै आएको छ।
बाढी तथा उद्धारसम्बन्धी कुनै समस्या परेमा वा खोज तथा उद्धार आवश्यक भएमा टोल फ्री नम्बर १२३४ मा तत्काल सम्पर्क गर्न गृह मन्त्रालयले आग्रह गरेको छ।यसअघि भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्याएको तथा नेपाल प्रहरीका तीन कार्यालयसमेत प्रभावित भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
बाढीको बहाव त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा समेत प्रभाव पार्न सक्ने भएकाले नदी किनारमा नजान, सुरक्षित स्थानमा बस्न र सडकको अवस्था नबुझी यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया