धादिङ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको प्रभाव धादिङसम्म पुगेको छ। बाढीको बहाव बढेसँगै गल्छी क्षेत्रमा एउटा झोलुङ्गे पुल बगाएको छ भने त्रिशूली नदी आसपासका तटीय बस्ती उच्च जोखिममा परेका छन्। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार जिल्लामा अहिलेसम्म ठूलो मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। तर नदीको सतह निरन्तर बढिरहेकाले गल्छी, मलेखुलगायतका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
बाढीको जोखिममा रहेका नदी तथा खोला किनारका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रशासनले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकाय तथा विपद् व्यवस्थापनका टोलीलाई नदी किनारका क्षेत्रमा परिचालन गरिएको छ। बाढीको जोखिम बढेपछि पृथ्वी राजमार्गमा सञ्चालनमा रहेका सवारीसाधनलाई विभिन्न सुरक्षित स्थानमा रोकिएको छ। प्रशासनले जोखिमयुक्त क्षेत्रमा तत्काल आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
विशेषगरी मलेखु र गल्छी क्षेत्रका तटीय बस्तीमा बाढीको जोखिम बढेकाले स्थानीयवासीलाई सतर्क रहन भनिएको छ। स्थानीय तहसँग समन्वय गरी जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा लैजाने काम भइरहेको प्रशासनले जनाएको छ। रसुवाबाट आएको बाढीको प्रभाव धादिङ हुँदै तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले नदी तथा खोला किनारमा नजान र सुरक्षित स्थानमा रहन प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया