ललितपुर । नेपाली कांग्रेसले भोटेकोसी–त्रिशूलीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ ।
कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको पदाधिकारी तथा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले सरकारलाई विभिन्न विषयमा ध्यानाकर्षण गराएको हो ।
बैठकले बाढीमा हराइरहेका व्यक्तिको तत्काल खोजी, जोखिममा रहेकाको उद्धार तथा प्रभावितलाई शीघ्र राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । नागरिकको जीवन रक्षालाई सर्वोच्च प्राथमिकतामा राखी उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले गरेका सकारात्मक प्रयासमा पार्टीको पूर्ण साथ र सहयोग रहने कांग्रेसले जनाएको छ ।
कांग्रेसले विशेषगरी सुरुङमा फसेका व्यक्तिको उद्धारमा भएको ढिलाइप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । आवश्यक उपकरण, दक्ष जनशक्ति र प्रविधि तत्काल परिचालन गर्न तथा हवाई उद्धारलाई थप प्रभावकारी बनाउन उसले माग गरेको छ ।
रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्नुपर्ने भन्दै कांग्रेसले आवश्यक परे मित्रराष्ट्रबाट प्रविधि र दक्षतासहितको थप उद्धार टोली ल्याउन सरकारलाई आग्रह गरेको छ । त्यस्तै, मित्रराष्ट्रसँग समन्वय गरी हेलिकोप्टर भाडामा लिएर भए पनि तीव्र गतिमा उद्धार गर्ने विशेष व्यवस्था गर्नुपर्ने उसको माग छ ।
कांग्रेसले बाढी प्रभावित क्षेत्रबाट राहत प्रभावकारी रूपमा नपुगेको, एकद्वार प्रणालीका नाममा व्यवस्थापनमा ढिलाइ भएको तथा आफन्त हराएका परिवारले खोजी तथा उद्धारमा विलम्ब भएको गुनासो आइरहेको जनाएको छ ।
राहत सहज स्थानमा थुप्रिएको तर विकट तथा अति प्रभावित बस्तीमा पुग्न नसकेको सूचना आएको भन्दै कांग्रेसले स्थानीय सरकार, सुरक्षा निकाय र समुदायसँग समन्वय गरी तत्काल प्रभावित बस्तीमा राहत पुर्याउन आग्रह गरेको छ ।
एकद्वार प्रणालीका नाममा प्रशासनिक झन्झटमा अल्झिएर जोखिममा रहेका नागरिकलाई थप जोखिममा नपार्न र स्थानीय सरकारमार्फत समन्यायिक ढंगले राहत वितरण गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसले विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट कार्यविभाजन गरी संघीय सरकारको नेतृत्वमा एकीकृत रूपमा काम गर्नुपर्ने जनाएको छ ।
स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले राहत, उद्धार र पुनःस्थापनामा स्थानीय सरकार, निजी क्षेत्र र समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने कांग्रेसको भनाइ छ ।
त्यस्तै, रसुवा, नुवाकोट र धादिङमा अवरुद्ध सडक खुलाउन, क्षतिग्रस्त पुलमा वैकल्पिक व्यवस्था गर्न तथा यातायात, विद्युत् र सञ्चार सेवा तत्काल सञ्चालन गर्ने वातावरण बनाउन संघीय सरकारका सम्बन्धित निकायलाई कांग्रेसले आग्रह गरेको छ ।
बाढीले बगाएका शवहरू विभिन्न स्थानमा छरिएर रहेको भन्दै कांग्रेसले थप जटिलता आउन नदिन विशेष प्रभावित क्षेत्रमा स्थलगत खोज तथा उद्धार टोली परिचालन गर्न आग्रह गरेको छ ।
फेला परेका शवको विवरण सुरक्षित राखी केही दिन संरक्षण गरेर परिवारलाई सनाखतको अवसर दिनुपर्ने तथा मृतकप्रति सम्मान गर्दै परिवारले आफ्नो संस्कृति र परम्पराअनुसार अन्तिम संस्कार गर्न पाउने अधिकारको संरक्षण गर्नुपर्ने कांग्रेसले जनाएको छ ।
बैठकले पार्टीको तर्फबाट प्रधानमन्त्री विपद् राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।
पार्टीका तहगत समिति, जनसम्पर्क समिति, भ्रातृ संघ, शुभेच्छुक संस्था तथा सदस्यहरूलाई पनि पार्टीको विपद् कोषमा सहयोग रकम जम्मा गर्न कांग्रेसले आग्रह गरेको छ ।
कांग्रेसले केन्द्रीय सदस्य एवं रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यको संयोजकत्वमा गठित विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समितिलाई प्रभावित परिवारको विवरण संकलन गर्न निर्देशन दिएको छ ।
समितिले गाउँपालिका तथा नगरपालिकाका वडागत रूपमा सम्पर्क गरी प्रभावित परिवारको अवस्था, समस्या र आवश्यकताको विवरण तयार गर्ने र पार्टीले गर्नुपर्ने समन्वय, सहजीकरण तथा सहयोगबारे सिफारिस गर्नेछ ।
बैठकमा मोहन आचार्य, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सहमहामन्त्री बहादुरसिंह लामा, नेता जगदीश्वरनरसिंह केसी, नुवाकोट पार्टी सभापति रमेश महतलगायतले बाढी प्रभावित क्षेत्रको वस्तुस्थितिबारे जानकारी गराएका थिए । प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा बैठकका निर्णय सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया