काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ५८ पुगेको छ ।
बाढीपछि विभिन्न जिल्लाबाट फेला परेका शव तथा मानव अवशेषको विवरणका आधारमा मृत्यु हुनेको संख्या १ हजार नाघेको हो ।
बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ तथा नवलपरासीका विभिन्न क्षेत्रमा शव फेला परिरहेका छन् । बाढीपछि नदीले बगाएर लामो दूरीसम्म पुर्याएका कारण प्रभावित क्षेत्रभन्दा बाहिरका जिल्लामा समेत शव भेटिएका छन् ।
प्रहरीको विवरणअनुसार फेला परेका मृतकमा ३० बालक, ३५ बालिका, २३२ महिला र ३६७ पुरुष रहेका छन् । यस्तै, ३२० जनाको आंशिक मानव अंग समेत फेला परेको छ । यससँगै फेला परेको शव तथा मानव अवशेषको कुल संख्या १ हजार ५८ पुगेको हो ।
बाढीपछि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन् । खोज तथा उद्धार टोलीले नदी किनार, बाढी प्रभावित बस्ती र जोखिमयुक्त क्षेत्रमा बेपत्ताको खोजीलाई निरन्तरता दिइरहेको छ ।
फेला परेका सबै शवको पहिचान भने खुलिसकेको छैन । लामो समय पानीमा डुबेका तथा क्षतविक्षत अवस्थामा भेटिएका शव पहिचान गर्न कठिन भइरहेको छ । त्यसैले पहिचानका लागि डीएनए परीक्षणलगायत वैज्ञानिक विधि अपनाउने तयारी गरिएको छ ।
यसअघि चीनले पनि पहिचान हुन नसकेका शवको पहिचानमा सहयोग गर्न डीएनए विज्ञ तथा परीक्षण उपकरण नेपाल पठाउने तयारी गरेको जनाएको थियो ।

प्रतिक्रिया