काठमाडौं । बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि चीनले पठाएको आपत्कालीन राहत सामग्रीको दोस्रो खेप मंगलबार साँझ काठमाडौं आइपुगेको छ।
चिनियाँ सेनाको सैन्य विमान मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। विमानमा राहत सामग्रीसँगै पाँच जना डीएनए पहिचानसम्बन्धी चिनियाँ विज्ञ समेत नेपाल आएका छन्।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार ती विज्ञहरूले बाढीपहिरोमा मृत्यु भएका तथा पहिचान हुन नसकेका शवको डीएनए परीक्षणमार्फत पहिचान गर्न नेपाली पक्षलाई प्राविधिक सहयोग गर्नेछन्।
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि ठूलो संख्यामा मानिसको मृत्यु तथा बेपत्ता भएपछि शवको पहिचान चुनौतीपूर्ण बनेको छ। यही अवस्थालाई ध्यानमा राख्दै चीनले राहत सामग्रीसँगै डीएनए पहिचानका विज्ञ टोली पनि नेपाल पठाएको हो।
यससँगै चिनियाँ पक्षबाट बाढी प्रभावितका लागि पठाइएको आपत्कालीन राहत सामग्रीको यो दोस्रो खेप हो। यसअघि पनि चिनियाँ सेनाका दुईवटा कार्गो विमानमार्फत राहत सामग्री नेपाल ल्याइएको थियो।

प्रतिक्रिया