काठमाडौं । सांसद बिक्रम खनालले पश्चिम नवलपरासीसहित तराईका सीमावर्ती जिल्लामा लागूऔषधको समस्या तीव्र रूपमा बढिरहेको भन्दै सरकारले तत्काल विशेष कार्ययोजना ल्याउनुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै खनालले लागूऔषधको दुर्व्यसनका कारण युवा पुस्ता प्रभावित भइरहेको बताए। उनले युवाहरूमा फैलिएको दुर्व्यसनले व्यक्तिगत जीवनसँगै मुलुकको भविष्यमा समेत गम्भीर असर पारिरहेको उल्लेख गरे।
खनालले लागूऔषधको दुर्व्यसनमा परेका युवाका लागि सरकारी स्तरमै निःशुल्क पुनःस्थापना केन्द्र स्थापना गर्नुपर्ने बताए। साथै युवालाई उद्यमशीलतासँग जोड्ने कार्यक्रम सञ्चालन गर्न र विद्यालय तहदेखि नै लागूऔषधविरुद्ध चेतनामूलक अभियान सञ्चालन गर्न सरकारसँग माग गरे।सीमापारबाट हुने लागूऔषधको अवैध कारोबार नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा निकायबीच निरन्तर समन्वय आवश्यक रहेको उनको भनाइ छ।
‘हाम्रा छोराछोरीको भविष्य जोगाउनु हामी सबैको पहिलो कर्तव्य हो,’ खनालले भने, ‘दुवै देशका सुरक्षा संयन्त्र मिलेर सीमा क्षेत्रमा उच्च सतर्कता, कडा जाँचबुझ र एकीकृत सुरक्षा रणनीति अपनाउन अत्यन्त जरुरी छ।’
उनले लागूऔषधको समस्या नियन्त्रणका लागि सरकारले अविलम्ब विशेष कार्ययोजना लागू गर्नुपर्ने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए।

प्रतिक्रिया