दशैं–तिहारमा नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने

दशैं–तिहारमा नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने


काठमाडौं । यस वर्षको दशैं–तिहारमा नयाँ नोट साट्न नेपाल राष्ट्र बैंकमै पुग्नुपर्ने बाध्यता नहुने भएको छ ।

राष्ट्र बैंकले सर्वसाधारणको सहजताका लागि आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाटै नयाँ नोट सटही गर्न सकिने व्यवस्था गरेको छ ।

विगतमा जस्तो नयाँ नोट वितरणका लागि निश्चित दिन तोकेर भीड व्यवस्थापन गर्ने व्यवस्था यस वर्ष गरिएको छैन । आवश्यकताअनुसार नयाँ नोट साट्न आउने सर्वसाधारणलाई निरन्तर सेवा दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई वितरण गर्न राष्ट्र बैंकबाट नयाँ नोट लिइसकेका छन् । राष्ट्र बैंकका अनुसार नयाँ नोटको मौज्दात पर्याप्त रहेकाले सटहीका लागि आउनेलाई एक–दुई सेटसम्म नयाँ नोट उपलब्ध गराइनेछ ।

राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयबाट पनि नयाँ नोट साट्न सकिनेछ । तर सर्वसाधारणले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाबाटै सटही गर्न सक्ने भएकाले राष्ट्र बैंकमा हुने भीड घट्ने अपेक्षा गरिएको छ ।

यस वर्ष राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट प्रयोगलाई पनि प्राथमिकता दिँदै आएको छ । नयाँ नोटको माग व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थालाई एटीएमबाट समेत साना दरका नोट उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाको मागअनुसार अब एटीएमबाट १ सय रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने व्यवस्था गरिएको हो । हाल अधिकांश एटीएमबाट ५ सय र १ हजार रुपैयाँ दरका नोट मात्रै निकाल्न सकिने व्यवस्था छ ।