काठमाडौं । दसैँ नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ। सहरबाट गाउँ फर्किनेको लर्को लागेको छ। परदेशमा रहेकाहरू पनि परिवारसँग चाडपर्व मनाउन घर फर्किने तयारीमा छन्। तर, नुवाकोटको विदुर नगरपालिका–सोलेका निराजन पौडेलका लागि दसैँ खुसी होइन, असह्य पीडा बनेर आएको छ। किनकि, जुन घरमा परिवारसँगै बसेर दसैँ मनाउने सपना थियो, त्यो घर अब छैन। भोटेकोशीको बाढीले घरसँगै उनका प्रियजनलाई पनि खोसेको छ।
दसैँको माहोल देख्दा निराजनको मन पनि गाउँ फर्किन खोज्छ। विगतका दसैँ, परिवारसँगका रमाइला क्षण र गाउँघरको चहलपहल सम्झनामा आउँछन्। तर, केही क्षणमै भदौ १० गतेको कहालीलाग्दो विपत्तिले उनलाई झस्काउँछ। सम्झनामा घर छ, तर आँखाअगाडि बगर। गाउँ जाने बाटो त छ, तर टेक्ने आँगन छैन।
अरूका लागि दसैँ घर पुग्ने र परिवारसँग खुसी साट्ने अवसर हो। निराजनका लागि भने गुमाएको घर र बेपत्ता परिवारको सम्झनाले मन भारी बनाउने समय बनेको छ। दसैँमा गाउँ फर्किने सपना त छ, तर अब फर्केर जाने घर नै छैन।
निराजनका पाँच वर्षीय छोरा लियान पौडेललाई अझै पनि दसैँमा गाउँ जाने, हजुरबा–हजुरआमासँग भेट्ने र पिङ खेल्ने आशा छ। अघिल्लो दसैँमा जस्तै यसपटक पनि सोलेस्थित घरमा पुगेर रमाइलो गर्न पाइन्छ भन्ने उनलाई लाग्छ।
‘बाबा, दसैँ आयो नि। हामी गाउँ कहिले जाने रु आमाबुबाले पिङ खेल्न आउनू भनेर किन फोन नगर्नुभएको रु भिडियो कल पनि किन नगर्नुभएको रु दसैँमा घर जाँदा म त रिसाउने हो,’ छोरा लियानका यस्ता प्रश्नले निराजनलाई पटकपटक भावुक बनाउँछन्।
छोरालाई वास्तविकता बुझाउन नसकिरहेका निराजन कहिलेकाहीँ आँसु लुकाउन बाथरुम वा अर्को कोठामा पुग्छन्। पानीले आँखा धोएर आफूलाई सम्हाल्ने प्रयास गर्छन्।
‘छोरालाई केही थाहा छैन। अझै पनि दसैँमा सोले घर जाने र पिङ खेल्ने भनिरहेको छ। म अर्को कोठामा हुँदा पनि आमाको फोनबाट घर र अघिल्लो दसैँमा हालिदिएको पिङ देखाउन भन्छ। ऊ आफ्नो घर छ कि छैन भनेर निश्चित हुन खोजिरहेको जस्तो लाग्छ,’ निराजन भन्छन्।
अबोध लियानलाई भोटेकोशीको बाढीले घर बगाएको र हजुरबा–हजुरआमासहित परिवारका सदस्य बेपत्ता भएको वास्तविकता थाहा छैन। उनका लागि दसैँ भनेको गाउँको घर, हजुरबुबाले हालिदिएको पिङ र हजुरआमासँगको भेट हो। तर, निराजनका लागि छोराको यही निर्दोष अपेक्षा सबैभन्दा ठूलो पीडा बनेको छ।
भदौ १० गते आएको बाढीमा निराजनले बुबा वासुदेव पौडेल, आमा गोमा, काका हिमालय, काकी उमा र बहिनी हिमानीलाई गुमाए। उनीहरू बाढीमा बेपत्ता भएका हुन्। उनीहरूको अवस्था अझै पत्ता लाग्न सकेको छैन।
परिवारका सदस्यसँगै निराजनले बाबुआमाले वर्षौँ लगाएर जोडेको सम्पत्ति पनि गुमाएका छन्। घरखेत कहाँ थियो भन्ने पहिचान गर्नसमेत कठिन भएको छ। अहिले उनीसँग परिवारका सदस्यको सम्झना र कहिल्यै निको नहुने पीडा मात्र बाँकी छ।
‘अहिले हामीलाई दसैँ आएको हो कि अरू कुनै दिन हो, छुट्याउनै गाह्रो छ। पहिले दसैँ आउँदा छुट्टै खुसी हुन्थ्यो। अहिले त चाडपर्व आएको अनुभूतिसमेत हुँदैन,’ निराजन भन्छन्।
उनका लागि दसैँसँग जोडिएका अनेकौँ सम्झना छन्। आमाले कमेरो र रातोमाटोले घर लिपपोत गर्ने, दसैँका लागि अचार बनाउने, घरवरपर सफा गर्ने र मासुका लागि घाँस नकाटी राख्ने चलन अझै उनको सम्झनामा ताजा छ। दसैँ बिदा भएपछि उनी दाउरा खोज्न गएर आमालाई सघाउँथे। गाउँमा प्रदेशीहरू फर्किन्थे र घरघरमा चाडपर्वको रौनक छाउँथ्यो।
दसैँका गीत बज्न थालेपछि गाउँमा उत्सवको माहोल बन्थ्यो। आफन्त र साथीभाइसँग भेटघाट हुन्थ्यो। तर, अहिले त्यो गाउँ उजाड बगरमा परिणत भएको छ। पहिले दसैँको खुसीले भरिने गाउँ अहिले बाढीले दिएको चोट र बेपत्ता आफन्तको सम्झनामा डुबेको छ।
२०७२ सालको भूकम्पले पनि निराजनको परिवारलाई घरबाट विस्थापित गरेको थियो। गाउँको घर बस्न नमिल्ने भएपछि परिवारका केही सदस्य बेँसीतिर झरेर जग्गा किने र नयाँ घर बनाए। खेतीपातीबाट हुने आम्दानीले परिवारको जीवनयापन चलिरहेको थियो।
विस्तारै परिवारको जीवन व्यवस्थित हुँदै गएको थियो। एक दशकभन्दा बढी समयपछि घरलाई अझ राम्रो बनाउने योजना अघि बढ्यो। बुबा वासुदेवले बाढी आउनुभन्दा दुई महिनाअघि मात्र घरमा प्लास्टर गराएका थिए। दसैँमा परिवारका सबै सदस्य भेला हुँदा घर राम्रो देखियोस् भन्ने उनको चाहना थियो।
निराजन पनि यसपटक प्लास्टर गरिएको घरमा बसेर परिवारसँग टीका र जमरा लगाउने, आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने योजनामा थिए। तर, बाढीले ती सबै सपना क्षणभरमै बगाइदियो।
अघिल्लो वर्ष पनि भोटेकोशीमा बाढी आएपछि निराजनले परिवारलाई जोखिमयुक्त ठाउँ छाडेर काठमाडौं आउन आग्रह गरेका थिए। नातिको हेरचाह गर्नसमेत सजिलो हुने भन्दै उनले बुबाआमालाई काठमाडौं ल्याउने सोच बनाएका थिए।
तर, बुबा विद्यालयमा अध्यापन गर्थे। अवकाश हुन अझै तीन वर्ष बाँकी रहेकाले दसैँको पेस्की लिएपछि काठमाडौं आउने विषयमा सोच्ने बताएका थिए।
‘मैले बुबाआमालाई अब त्यहाँ नबस्नुस्, जोखिम छ, काठमाडौं आउनुस् भनिरहेको थिएँ। तर, यस्तो विपत्ति आउला भन्ने कसैले कल्पना गरेका थिएनौँ,’ निराजन सम्झन्छन्।
परिवार काठमाडौं आएको भए सम्पत्ति गुमाउनुपरे पनि प्रियजनलाई गुमाउनुपर्ने थिएन कि भन्ने सोचले उनलाई अहिले पनि सताइरहन्छ।
पेसाले पत्रकार निराजन भदौ १० गते काठमाडौंस्थित कार्यालयमा थिए। उनी रातोपाटीमा कार्यरत थिए। बाढी आएको खबर सुरुमा सुन्दा उनले सामान्य बाढी होला भन्ने ठानेका थिए। यसअघि पनि खोला बढ्ने र बाढी आउने गरेकाले यसपटक पनि त्यस्तै होला भन्ने लागेको थियो।
केही समयपछि बाढी सोलेसम्म पुगेको खबर आयो। काठमाडौंमै रहेका अर्जुन पौडेलले फोन गरेर गाउँमा बाढी पसेको जानकारी दिएपछि निराजनले परिवारका सदस्यलाई सम्पर्क गर्न थाले।
पहिले आमालाई फोन गरे, सम्पर्क भएन। त्यसपछि बुबा, काका र बहिनीलाई फोन गरे। कसैसँग पनि सम्पर्क हुन सकेन।
फोन नलागे पनि परिवारका सदस्य सुरक्षित स्थानमा पुगेका होलान् भन्ने आशा उनलाई थियो। यसअघि बाढी आउँदा गाउँका मानिस माथिल्लो भाग वा जङ्गलतिर गएर ज्यान जोगाउने गरेका थिए। यसपटक पनि परिवारका सदस्य त्यतै सुरक्षित बसेका होलान् भन्ने लागेको थियो।
‘मलाई दिउँसो २ देखि ३ बजेसम्म सबै जना सुरक्षित हुनुहुन्छ होला भन्ने लागेको थियो। फोन नलाग्नु सामान्य समस्या होला भन्ने सोचेको थिएँ,’ उनी भन्छन्।
तर, समय बित्दै जाँदा गाउँबाट आउने खबरले उनको आशा कमजोर बनाउँदै लग्यो। परिवारका सदस्यको अवस्था पत्ता लागेन। उनीहरूको शवसमेत फेला परेन। अन्ततः कुशको शव बनाएर काजकिरिया गर्नुपर्यो।
‘अहिले पनि मनले उहाँहरू हुनुहुन्न भन्ने मान्न सकेको छैन। कतै जङ्गल या ओडारमा बसिरहनुभएको छ कि भन्ने लाग्छ। कहिलेकाहीँ फोन हेर्न मन लाग्छ। अब दसैँमा घर आउनु भनेर फोन गर्नुहुन्छ कि जस्तो लाग्छ,’ निराजन भन्छन्।
उनकी बहिनी हिमानी चीनमा सिभिल इन्जिनियरिङ अध्ययन गर्दै थिइन्। बिदामा घर आएकी उनी बाढी आएको दिन काकासँग काठमाडौं आउने तयारीमा थिइन्। विद्यालयमा अध्यापन गर्ने बुबा पनि त्यस दिन भतिजीलाई बिदा गर्न घर आएका थिए। तर, त्यही दिन आएको बाढीले परिवारका सदस्यलाई बेपत्ता बनायो।
निराजनका अनुसार गाउँका ७८ जना अझै बेपत्ता छन्। विपत्तिले प्रभावित परिवारले भोगिरहेको मानसिक पीडा कम गर्न समयसँगै सहयोगको पनि आवश्यकता छ।
परिवारका सदस्य र सम्पत्ति गुमाएका निराजनलाई अबको जीवन कसरी अघि बढाउने भन्ने चिन्ता छ। घर कहाँ बनाउने, कसरी बसोबास गर्ने र जीविकोपार्जन कसरी गर्ने भन्ने प्रश्न उनका अगाडि छन्।
उनी विपत्तिबाट प्रभावित परिवारलाई राज्यले दीर्घकालीन सहयोग गर्नुपर्ने बताउँछन्। विशेषगरी अभिभावक गुमाएका बालबालिकाको भविष्यप्रति राज्यले ध्यान दिनुपर्ने उनको आग्रह छ।
‘हामीलाई अब राज्यको अभिभावकत्व चाहिएको छ। घर कहाँ बनाउने रु कसरी बस्ने रु कसरी जीवन चलाउने रु भन्ने आधार चाहिएको छ। कतिपय बालबालिकाले अभिभावक गुमाएका छन्। उनीहरूलाई कसरी सम्झाउने र उज्ज्वल भविष्य कसरी निर्माण गर्ने भन्ने पनि सोच्नुपर्छ,’ निराजन भन्छन्।
दसैँमा घर फर्किनेहरूको भीड बढ्दै गर्दा निराजन भने सम्झनाको घरमा हराइरहेका छन्। छोरालाई गाउँको घर र पिङको सम्झना छ। निराजनलाई भने त्यही घरमा बिताएका अन्तिम खुसीहरू याद आइरहेका छन्।
यसपटक उनको गाउँ फर्किने बाटो त छ, तर घर छैन। दसैँ मनाउने परिवार छैन। छोराका प्रश्नको जवाफ पनि छैन। बाँकी छ त केवल बाढीले खोसेका आफन्तको सम्झना, उजाडिएको बस्ती र फेरि कहिल्यै पहिलेझैँ नहुने जीवनको पीडा।

प्रतिक्रिया