काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी कुनै नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्ति भएको बताएका छन्। उनले कांग्रेसलाई सामाजिक, राजनीतिक तथा आर्थिक समस्याको समाधान दिन सक्ने पार्टीका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
बौद्धिक पेशाकर्मी अभियान परिषद्ले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रम एवं बडादशैं, तिहार र छठ पर्व २०८३ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति थापाले बदलिँदो समाजका आवश्यकता र नागरिकका आकाङ्क्षालाई पार्टीले सम्बोधन गर्नुपर्ने बताए। उनले कांग्रेस कुनै नेताको निजी कम्पनी नभएको उल्लेख गर्दै पार्टीमा आबद्ध सदस्य, समर्थक र शुभेच्छुक सबैको समान अधिकार रहेको बताए। राजनीतिक दलको वैधता सदस्यहरूको मतबाट मात्र नभई आम नागरिकको स्वीकार्यताबाट पनि स्थापित हुने उनको भनाइ थियो। थापाले भदौ २३ र २४ गतेका घटनापछिको परिस्थितिमा जनतामाझ पुगेर आफ्ना विचार राख्न र नागरिकका कुरा सुन्न विशेष महाधिवेशन आयोजना गरिएको स्पष्ट पारे। पार्टीको आगामी यात्रामा विचार, सङ्गठन र नेतृत्वलाई मुख्य आधार बनाएर अघि बढ्ने उनले बताए।
सभापति थापाले पार्टीको आन्तरिक निर्वाचन प्रणालीलाई सरल र प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औँल्याए। वडादेखि केन्द्रसम्म हुने निर्वाचन तथा प्रतिनिधि छनोट प्रक्रियामा पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो। आन्तरिक निर्वाचनमा पराजित भएका नेताहरूलाई पनि पार्टीको जिम्मेवारीमा समेटेर अघि बढ्ने उनले बताए। निर्वाचनमा विजयी वा पराजित भएकै आधारमा नेताको योग्यता निर्धारण गर्न नहुने उल्लेख गर्दै उनले अनुभवी र योग्य नेताहरूको योगदानलाई पार्टी निर्माणमा उपयोग गरिने बताए।
थापाले बदलिँदो प्रविधि, जनसाङ्ख्यिक परिवर्तन र विश्वव्यापी राजनीतिक परिस्थितिले नयाँ पुस्ताको सोच तथा आकाङ्क्षामा परिवर्तन ल्याएको बताए। पुरानो र नयाँ पुस्तालाई प्रतिस्पर्धीका रूपमा प्रस्तुत गर्दा समाजमा विभाजन बढ्न सक्ने भन्दै उनले विभिन्न पुस्तालाई जोड्ने भूमिका कांग्रेसले निर्वाह गर्नुपर्नेमा जोड दिए। यसपटक ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य निर्वाचित भएको उल्लेख गर्दै उनले यसलाई बदलिँदो समाजका मुद्दालाई सम्बोधन गर्ने प्रयासका रूपमा व्याख्या गरे।

प्रतिक्रिया