आगामी साता भीषण वर्षा र आँधीको चेतावनी, धान र कोदो काट्न व्यस्त किसान

आगामी साता भीषण वर्षा र आँधीको चेतावनी, धान र कोदो काट्न व्यस्त किसान


काठमाडौं । यो मौसम गाउँघरमा मानो रोपेर मुरी फलाउने किसानका लागि वर्षभरिको पसिना भित्र्याउने खुसीको समय हो। देशमा राजनीतिक दाउपेच र गुटबन्दी जारी रहँदा, देशको मेरुदण्ड मानिने किसानहरू भने यतिबेला खेतका गरा र बारीका कान्लामा धान तथा कोदो काट्न व्यस्त छन्।

दसैँलगत्तै र तिहारको सङ्घारमा मौसमले साथ दिएपछि गाउँगाउँमा अन्नबाली भित्र्याउने चटारो चरम उत्कर्षमा पुगेको छ। न मल पाउँदाको गुनासो सुनिदिने सरकार छ, न बालीको उचित मूल्य दिने संयन्त्रस तैपनि आफ्नै पसिनाको फल जोगाउन नेपाली किसान बिहानैदेखि साँझसम्म खेतबारीमै खटिरहेका छन्।

मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी पानी पर्न सक्ने सम्भावना रहेको बताएका छन् ।

बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन् ।