काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारभित्र लुकाएर सुन ल्याएको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चीनको जिलिनका ५८ वर्षीय जियानहुआ वाङ छन् । बुधबार बिहान १ः२५ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० बाट हङकङ हुँदै काठमाडौं आएका उनी १ किलो ८०३.७७ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित पक्राउ परेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार शंकास्पद गतिविधि देखिएपछि जाँच गर्ने क्रममा वाङले मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाएको अवस्थामा उक्त पदार्थ फेला परेको थियो ।
प्रहरीका अनुसार चारवटा गोलाकार पदार्थ प्लास्टिकमा प्याक गरिएको अवस्थामा बरामद गरिएको हो । भन्सार क्षेत्र पार गरेर बाहिरिने क्रममा पदार्थ फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद पदार्थसहित वाङलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

प्रतिक्रिया