कुनै आईजीपीको अनुहार मन परेन भनेर फेर्न पाइँदैनः बद्रीबहादुर कार्की

कुनै आईजीपीको अनुहार मन परेन भनेर फेर्न पाइँदैनः बद्रीबहादुर कार्की


काठमाडौँ । प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारमा सरुवा गरिएका दानबहादुर कार्कीको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ तथा बहस सुरु भएको छ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको बहसमा सहभागी वरिष्ठ तथा प्रख्यात कानून व्यवसायीहरूले सरकारको उक्त निर्णय स्वेच्छाचारी र गैरकानूनी रहेको जिकिर गरेका छन्। बहसका क्रममा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले कुनै पनि आईजीपीको अनुहार मन परेन भन्दैमा कार्यकाल बाँकी रहँदा फेर्न नमिल्ने स्पष्ट पार्नुभयो।

अर्का वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले पनि सरकारको निर्णय प्रथम दृष्टिमै गलत रहेको उल्लेख गर्दै तत्काल अन्तरिम आदेश जारी गरी १५ दिनभित्र लिखित जवाफ माग गर्नुपर्ने माग गर्नुभयो। चार वर्षको निश्चित पदावधि हुने पदमा बिना स्पष्टीकरण हटाइनु कानुनसम्मत नभएको भन्दै कानुनविद्हरूले तत्काल अदालतबाट न्यायको अपेक्षा गरेका छन्।