काठमाडौं। सरकार प्रमुख प्रधानमन्त्रीले विदेशको राजकीय भ्रमण गर्दा राष्ट्रप्रमुख राष्ट्रपतिलाई ब्रिफिङ गर्नु प्रधानमन्त्रीको संवैधानिक कर्तव्य भए पनि हालै प्रधानमन्त्री वालेन्द्र शाहले दुईदिने भारतको राजकीय भ्रमण गर्दा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेनन् ।
त्यसो त गत चैतमा प्रधानमन्त्री बनेका वालेनले हालसम्म राष्ट्रपति पौडेलसँग भेट गरेका छैनन् । शीतलनिवासमा हुने शपथग्रहण समारोहमा बाहेक प्रधानमन्त्री वालेन शीतल निवास गएका छैनन् ।
यही मंसिर ६ र ७ गते भारतको भ्रमण गर्दा वालेन शीतलनिवास जाने महत्त्वपूर्ण अवसर थियो । तर, वालेन भारत जानुअघि पनि शीतलनिवास गएनन्, फर्केर आएपछि पनि गएका छैनन् ।
बरु वालेनले आफ्ना पार्टी सभापति रवि लामिछानेसँग भने उनकै निवासमा पुगेर पाँच घण्टा लामो छलफल गरे ।
प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रधानमन्त्रीबाट व्रिफिङ लिएपछि रास्वपा सभापति लामिछाने शुक्रबा राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् । यसअघि पनि लामिछानेले राष्ट्रपतिसँग भेट गरेका थिए । प्रधानमन्त्रीले गर्नुपर्ने भेट र छलफलहरू लामिछानेबाट हुँदै आएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
यसअघि भोटेकोशी बाढी जाँदा पनि प्रधानमन्त्रीले नभई रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक आयोजना गरेका थिए ।

प्रतिक्रिया