तनावबीच वार्ताका लागि इरानी रिभोलुसनरी गार्डका उच्च कमान्डर इराकमा

तनावबीच वार्ताका लागि इरानी रिभोलुसनरी गार्डका उच्च कमान्डर इराकमा


काठमाडौं । इरानी समर्थित सशस्त्र समूह कताइब हिज्बुल्लाहसँगको तनावबीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को कुद्स फोर्सका प्रमुख इस्माइल कानी वार्ताका लागि इराक पुगेका छन् ।

इराकका एक अधिकारीले अलजजिरालाई दिएको जानकारीअनुसार उनी इरानी समर्थित सशस्त्र समूहसँग जोडिएको भनिएको तेल तस्करीबारे समाधान खोज्न इराक पुगेका हुन् ।

इराकको मध्यभागमा बग्दाद नजिकै रहेको कताइब हिज्बुल्लाहको प्रभाव क्षेत्र जुर्फ अल-नसर आसपास तनाव बढिरहेका बेला कानी त्यहाँ पुगेका हुन् ।

इराकी अधिकारीका अनुसार कानीले प्रधानमन्त्री अली अल-जैदीसँग भेट गरेका छन् । उनले इराकी संसद्मा रहेका शिया दलहरूको साझा मोर्चा कोअर्डिनेसन फ्रेमवर्कका नेताहरूसँग पनि छलफल गरेका छन् । शंकास्पद तेल तस्करीबारे अनुसन्धानका कारण बढेको तनाव कम गर्न सहमति जुटाउने प्रयासस्वरूप ती भेटघाट भएका हुन् ।

गत साता सार्वजनिक भएको एक गोप्य गुप्तचर प्रतिवेदनमा जुर्फ अल-नसर हुँदै जाने दुईवटा रणनीतिक तेल पाइपलाइनमा अवैध रूपमा तेल निकाल्ने व्यवस्था गरिएको उल्लेख थियो ।

इराकले हालै उक्त क्षेत्रलाई केन्द्रमा राखेर व्यापक भ्रष्टाचारविरोधी अभियान सुरु गरेको छ । उक्त क्षेत्रमा अवैध तेल प्रशोधन केन्द्रहरू रहेको आरोप छ ।

सरकारले व्यापक तस्करी सञ्जालबाट सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अभियान चलाइएको बताउँदै आएको छ । तर, केही विश्लेषकले यसलाई राज्यको संरचनामा समाहित हुन अस्वीकार गर्दै आएका इरान समर्थित सशस्त्र समूहको आर्थिक स्रोत बन्द गर्ने सुनियोजित रणनीतिका रूपमा हेरेका छन् ।

इराकी स्रोतले अलजजिरालाई बताएअनुसार न्यायिक समितिले उक्त क्षेत्रमा प्रवेश गर्ने विषयमा सशस्त्र समूहहरूसँग अझै सहमति जुटाउन सकेको छैन ।

अलजजिराका इराकस्थित संवाददाताका अनुसार कोअर्डिनेसन फ्रेमवर्कका कम्तीमा तीन नेताले कताइब हिज्बुल्लाहसँग राजनीतिक सहमति नगरी सशस्त्र झडप गर्ने वा संघीय सुरक्षा बललाई उक्त क्षेत्रमा प्रवेश गराउने कदमको विरोध गरेका छन् ।

इराकले सेना परिचालन गर्‍यो

सोमबार प्रधानमन्त्री अल-जैदीले सैन्य तथा सुरक्षा अधिकारीहरूलाई उक्त सहर वरिपरि थप सेना परिचालन गर्न र सरकारी फौज प्रवेशका लागि तयारी गर्न निर्देशन दिएका थिए । यस आदेशले सरकार र सरकारी सेनालाई सशस्त्र समूहसँग प्रत्यक्ष भिडन्तको अवस्थामा पुर्‍याउन सक्ने देखिएको छ ।

सुरक्षा निकायलाई उक्त क्षेत्रबाट तेल वा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर बाहिरिन नदिन पनि निर्देशन दिइएको छ ।

यसअघि इराकका एक वरिष्ठ अधिकारीले अलजजिरालाई कताइब हिज्बुल्लाहलाई जुर्फ अल-नसर छाड्न शुक्रबारसम्मको समय दिइएको बताएका थिए ।

तर कताइब हिज्बुल्लाहका एक कमान्डरले एएफपीसँग भनेका छन्, ‘म पूर्ण विश्वासका साथ भन्न सक्छु, कताइबले जुर्फ अल-नसर छाडोस् भन्ने उनीहरूको सपना पूरा हुने छैन, हाम्रा शवमाथिबाट गुज्रिएर पनि होइन ।’

इराकमा अर्धआधिकारिक हैसियत प्राप्त दर्जनौँ सशस्त्र समूहमध्ये एक कताइब हिज्बुल्लाहले आइतबार आफूमाथिका आरोप अस्वीकार गरेको थियो । समूहले पाइपलाइनमा कुनै हस्तक्षेप नभएको निरीक्षणबाट पुष्टि भएको दाबी गरेको छ ।

समूहले पछिल्लो समय इराकका प्रधानमन्त्रीको आलोचना गर्दै विभिन्न वक्तव्य जारी गरेको छ । उसले प्रधानमन्त्रीमाथि भ्रष्टाचारको आरोप लगाउँदै सरकारलाई धम्कीसमेत दिएको छ ।

तेल तस्करीबारे सरकारले ‘झुटा आरोप सिर्जना गरेको’ र आफूलाई हतियार त्याग्न बाध्य पार्न ‘सबैभन्दा ठूलो ब्ल्याकमेल अभियान’ चलाएको समूहको आरोप छ ।

प्रधानमन्त्री बनेदेखि नै अल-जैदीले सशस्त्र समूहहरूले आफ्ना हतियार राज्यलाई बुझाउनुपर्ने सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।