भारतीय राजदूत दलेलाले गरे प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट

भारतीय राजदूत दलेलाले गरे प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट


काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्री शाहले राजदूत नियुक्त भएकोमा दलेलालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

भेटका क्रममा प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे ।

त्यसैगरी प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीबारे पनि छलफल भएको थियो । सो अवसरमा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताए ।

उनले प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई थप उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी दिए ।

भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो ।