काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनतासँगको संवाद र सम्बन्ध टुट्दा पार्टी कमजोर बन्न पुगेको बताउनुभएको छ।
पार्टीको राष्ट्रिय भेलामा शुद्धीकरण र सुदृढीकरणसम्बन्धी कार्ययोजना प्रस्तुत गर्दै महासचिव पोखरेलले वडा केन्द्रित र ग्रासरुट अभियानहरू सञ्चालन भए पनि ती औपचारिकतामा मात्र सीमित रहेको स्वीकार गर्नुभयो। जनताको बदलिँदो मनोविज्ञान बुझ्न नसक्दा र उनीहरूसँग संवाद नहुँदा निर्वाचनमा अपेक्षित नतिजा नआएको उहाँको भनाइ थियो।
सोही अवसरमा उम्मेदवार छनोटको विषयलाई लिएर नेतृत्वलाई मात्र दोष दिने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिँदै महासचिव पोखरेलले कार्यकर्ताहरूलाई नै आफैँ उम्मेदवार छानेर जिताएर देखाउन चुनौती दिनुभयो। आगामी दिनमा मनोगत ढङ्गले भन्दा पनि वैज्ञानिक सर्वेक्षण र सुझावका आधारमा उम्मेदवार छनोट गर्नुपर्ने र डिजिटल प्रचारलाई प्राथमिकता दिनुपर्ने प्रस्ताव उहाँले प्रस्तुत गर्नुभएको छ।

प्रतिक्रिया