काठमाडौं– नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका छन् ।
इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएशनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आज आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा उनी फ्रान्सका बक्सर एन्टोनिन मार्कोनीलाई ढाल्दै वल्र्ड च्याम्पियन हुन सफल भएका हुन्।
बक्सर घिमिरेले प्रतियोगिताका लागि थाइल्याण्डको फुकेट सहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण आफ्नै खर्चमा लिएका थिए । यो ऐतिहासिक सफलतासँगै घिमिरे इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी बन्न सफल भएका हुन् ,
इस्काको उपाधि चुमेपछि बक्सर घिमिरेले आफ्नो जितका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, आफूले प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसल प्रदान गर्ने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई विशेष धन्यवाद दिएका छन् । आगामी दिनमा पनि नेपाली दर्शकहरूले यसैगरी नै हौसला दिने उनको विश्वास छ ।
प्रतिक्रिया