संकलन गरिएको फोहोर उठाउन गाडी पठाउन भन्दा जरिवानाको प्रचार गरियो : महासचिव पोखरेल

संकलन गरिएको फोहोर उठाउन गाडी पठाउन भन्दा जरिवानाको प्रचार गरियो : महासचिव पोखरेल


काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको बताएका छन्।

शुक्रबार दरबारमार्गमा एमालेले आयोजना गरेको सभामा फोहोर गरेको भन्दै महानगरपालिकाले १ लाख जरिवाना गरेपछि महासचिव पोख्रेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आयोजकले नै सफा गरिसकेको अवस्थामा पनि जरिवानाको पर्चा पठाउनुले नै मेयर साह एमालेविरुद्ध परिचालित भएको प्रष्ट रूपमा बुझिएको महासचिव पोखरेलले दाबी गरेका हुन्।

कार्यक्रम समापन पछि संकलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको उनले बताए।

उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कार्यक्रम समापन भएपछि आयोजककै तर्फबाट फोहोर संकलन गरिँदै थियो । महानगरलाई फोहोर उठाउनका लागि सहयोग गर्न अनुरोध गरिएको थियो । तर, अनुरोध अस्वीकार गर्दै जरिवानाको प्रचार गरियो । कार्यक्रमस्थल सफा भइरहेको अवस्थामा पनि जरिवानाको पर्चा पठाइनुले मेयर बालेनको प्राथमिकता सरसफाइ नभएर प्रचारबाजीमा रहेको देखिन्छ।’