विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते भएका फुलेश्वर मेहताको मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो । सुनसरी प्रहरीका अनुसार प्रसाईं सवार बागमती प्रदेश ०१(०२८ च ०२०१ नम्बरको गाडीले गत कात्तिक २५ गते कोशी गाउँपालिका- ३ स्थित नहर चोकमा मोटरसाइकललाई ठक्कर दिएको थियो । कोशी ब्यारेजतर्फ गइरहेको प्रसाईं सवार गाडीको ठक्करबाट दुई जना घाइते भएका थिए । घाइतेमध्ये स्थानीय ६० वर्षीय फुलेश्वर मेहताको शुक्रबार उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनालगत्तै दाहिने खुट्टा र हातमा चोट लागेका मेहेतालाई उपचारको लागि भोक्राहा नरसिंहमा रहेको सप्तकोशी न्युरो अस्पतालमा भर्ना गरिएको थियो । सप्तकोशी न्युरोमा केही दिन उपचार गरे पनि मेहेताको अवस्थामा सुधार नभएपछि थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको थियो । उक्त अस्पतालमा मेहेताको शुक्रवार मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक पक्षले भने सप्तकोशी न्युरो अस्पतालको लापरबाहीको कारण मेहेताको ज्यान गएको आरोप लगाएका छन् । चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको दाबी गर्दै घटना छानबिन माग गर्दै मृतकका आफन्तले आन्दोलनको तयारी गरेका छन् ।
प्रतिक्रिया