उपप्रधानमन्त्री सिंहले भने -फोहोर व्यवस्थापनमा राजनीति नगरौँ

उपप्रधानमन्त्री सिंहले भने -फोहोर व्यवस्थापनमा राजनीति नगरौँ


काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले फोहोर व्यवस्थापनको विषयमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् ।

आइतबार सिंहदरवारमा फोहोर मैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा उपप्रधानमन्त्री सिंहले फोहोर मैला व्यवस्थापनमा राजनीति गर्न नहुने बताएका हुन् ।

फोहोर व्यवस्थापनमा भइरहेको राजनीतिलाई अब टाढा राख्न जरुरी रहेको उल्लेख गर्दै उनले भने,‘ देशको राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के कुरा व्यवस्थापन गर्न सक्छौँ ?’

संघीयताको मर्मअनुसार तीनै तहका सरकारले आ-आफ्नो कार्यक्षेत्रमा फोहोर व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने उनको धारणा छ ।

मन्त्री सिंहले भने, ‘काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्नका लागि धेरै समय गइसकेको छ । स्थानीय तहको निर्वाचनपछि यसको आवाज अझ धेरै उठेको पायौँ । छलफल मात्र गर्ने पत्रपत्रिकामा समाचार बन्ने काम मात्र भयो । छलफलपछि के एक्सन भए भन्ने विषयका समाचारहरू बन्न आवश्यक छ ।’

‘संघीयताको स्पिरिटअनुसार तीन तहको जुन सरकार छ । कुनैपनि सरकारले मिनिमाइज नगरीकन निर्णय गरेर फोहोर व्यवस्थापनको प्रक्रिया अगाडि बढाउनैपर्छ,’ उनले भने, ‘फोहोरमैलामा राजनीति गरेर त भएन नि त । कुरा आदर्शको गर्ने काम चाहिँ ठिक विपरीतको गर्ने ?’

फोहोर व्यवस्थापन सबैको सरोकारको विषय भएको भन्दै उनले पोहोर मैलाको सवालमा पनि विधिको शासनअनुसार चल्नुपर्ने बताए ।

शहरी विकास मन्त्रालयमा आज बिहान बसेको फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा मन्त्री सिंहसहित ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन लगायत सहभागी थिए । बैठकमा काठमाडौँ महानगरपालिका प्रमुख बालेन साह भने उपस्थित भएनन् । काठमाडौँ महानगरबाट प्रमुख कार्यकारी सहभागी थिए ।

यसैगरी प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालयका सचिवहरू तथा धादिङको धुनिबेंसी नगरपालिका प्रमुख र नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष पनि बैठकमा सहभागी थिए ।