पातारासी गाउँपालिकाले उमेर पुगेर विवाह गर्ने युवायुवतीलाई विवाहस्थलमै पुगेर बधाइ पत्र दिन थालेको छ । नगरपालिकाको यस्तो सचेतनामुलक अभियानले गाउँपालिकामा पछिल्लो समयमा बालविवाह न्यूनिकरण हुँदै गएको छ ।
गाउँपालिकाले विभिन्न गैरसरकारी संस्थासँगको सहकार्यमा बालविवाह न्यूनिकरण अभियान सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले बालविवाहसम्बन्धी कानुनी सचेतीकरणदेखि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख भगवती गिरीका अनुसार हरेक वर्ष विवाह गर्ने महिनामा प्रहरी, जनप्रतिनिधि, महिला बालबालिका शाखा, बाल क्लब र अनुगमन, र्याली अभियान अन्तरक्रिया सडक नाटक प्रदर्शन, बस्ती बस्ती, मावि स्तरका विद्यालय, समुदायमा जाने, सचेतना कार्यक्रम गर्ने लगायतका काम निरन्तर भइरहेका छन् ।
बाल विवाह न्युनिकरणका कार्यक्रममा अध्यक्ष पूर्णसिंह बोहोरा, उपाध्यक्ष जनमाया रोकाया लगायत सबै जनप्रतिनिधिले सहयोग गर्ने गरेको महिला बालबालिका शाखा प्रमुख गिरीले बताइन् । सोही योजनाअनुरुप पातारासी गाउँपालिका–७ रिनीका अर्जुन खड्का र लालमाया बुढा९खड्का०लाई विवाह स्थलमै पुगेर यस वर्ष पहिलो बधाइपत्र प्रदान गरिएको उनले बताइन् ।
यो जोडीले २० वर्ष उमेर पूरा गरी विवाह गरेकाले बालविवाह न्यूनीकरणको लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको भन्दै सम्मान गरिएको हो । बधाईपत्रमा वडाध्यक्ष, वडा सचिव र महिला तथा बालबालिका शाखा प्रमुखको हस्ताक्षर छ ।
पातारासीको वडा नम्बर ५ बालविवाहमुक्त वडा घोषणा भइसकेको छ भने अन्य वडाहरूलाई पनि अभियानमा सहभागी गराउन योजना अघि बढाइएको गिरीले बताइन् ।
प्रतिक्रिया