मिक्लाजुङ – मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबि कुमार राईले जापानका प्रभावशाली सांसद कुबोटा तेत्सुयासँग महत्त्वपूर्ण भेटवार्ता गरेका छन्। स्पेसटाउनका मेयर हिरोसी कोजोनोको निमन्त्रणामा जापान भ्रमणमा रहेका अध्यक्ष राईले दुई पालिकाबीच भगिनी सम्बन्ध स्थापना र यसको दीर्घकालीन प्रभावकारिता सुनिश्चित गर्न विभिन्न विषयमा छलफल गरेका हुन्।
भेटमा अध्यक्ष राईले मिक्लाजुङको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार क्षेत्रको विकासमा जापानको सहयोग आवश्यक रहेको बताए। उनले सांसद कुबोटासँग यी क्षेत्रका परियोजनाहरूमा सहकार्य र स्रोतसाधन परिचालनका लागि आग्रह गर्दै द्विपक्षीय सम्बन्धलाई थप सबल बनाउने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष राईको यो पहलले मिक्लाजुङ र स्पेसटाउनबीचको सम्बन्धलाई मात्र नभई, समग्र पालिकाको विकास प्रयासलाई पनि गति दिने विश्वास गरिएको छ। कार्यक्रममा मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा, नेपाली कांग्रेसका नेता चिरञ्जीवी थापा, र व्यवसायी जीवन खड्का लगायतको उपस्थिति रहेको थियो।
यो भेटवार्ताले मिक्लाजुङ गाउँपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र विकासमा नयाँ अध्याय प्रारम्भ हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया